close

सिरिजङ्घाकाे अभियान : ‘द्वार एक, सेवा अनेक’

सिरिजङ्घाकाे अभियान : ‘द्वार एक, सेवा अनेक’

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - कतै भाडा तिर्दै र कतै लड्न लागेका भवनमा रहँदै आएका कार्यालय आफ्नै भवनमा सार्न ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले ‘द्वार एक, सेवा अनेक’ अभियान सुरु गरेको छ । 


यसअन्तर्गत गाउँपालिका र पालिकामा रहेका आठवटै वडाका भवनहरू धमाधम बनाइन थालेका छन् । गाउँपालिकाको भवनका लागि पालिका केन्द्र तेल्लोकमा जग्गाको बन्दोबस्ती गरी भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ । 


गाउँपालिकाका प्रवक्ता एवं वडा- ३ का वडा अध्यक्ष सन्तोष चाम्लिङका अनुसार पुराना भएका र भाडा तिरेर बस्दै आएका भवन छाडी आफ्नै भवनबाट सेवा संचालन गर्ने योजनाअनुरूप गाउँ तथा र वडापालिकाका भवनहरू धमाधम निर्माणको चरणमा छन् । 


२४ मंसिरमा वडा- ७ खेवाङमा बन्ने वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । पालिका अध्यक्ष टीकाराम गुरुङले वडापालिका भवनको शिलान्यास गरेका हुन् । 


पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार भ्याटबाहेक ७२ लाख ७९ हजार १२४ रुपैयाँ बराबरको लागतमा अबको १५ महिनाभित्र भवन निर्माण कार्य पूरा गरिनेछ । भ्याटबाहेक ७८ लाख ८६ हजार ५०९ रुपैयाँ कुल लागत अनुमान गरिएको भवनका लागि काठमाडौ सुकेधारास्थित किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ प्रालिले लागत अनुमानभन्दा करिव छ लाख रुपैयाँ कममा ठेक्का पारेको थियो । 


गाउँपालिका प्रवक्ता चाम्लिङका अनुसार सिरिजङ्घा गाउँपालिका वडा- १ सिनामको आफ्नै भवन भए पनि पुरानो र जीर्ण छ । वडा- २ आम्बेगुदिनमा बनाइँदै छ भने वडा- ३ सिकैचाको आफ्नै भवन छ । 


पालिका केन्द्र रहेको वडा- ४ तेल्लोकको आफ्नै भवन नहुँदा भाडा तिरेर संचालन गरिँदै आएको छ । वडा- ५ पेदाङको भवन पुरानो भएकाले नयाँ बनाइँदै छ । वडा- ६ मामाङ्खेको आफ्नो भवन नभएकाले भाडाकै भवनबाट सेवा दिइरहेको छ । त्यहाँ पनि भवन बनाउने प्रक्रिया सुरु भएको वडा अध्यक्ष सुखराज मावो लिम्बूले जानकारी दिए । 


वडा- ८ याम्फुदिनको भवन पुरानो छ । त्यहाँ पनि भवन निर्माणको प्रक्रिया चालू आर्थिक वर्षमै सुरु हुने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।