close

आहा ! स्कुलमै बसेर पढ्न पाइने भयो (भिडियाे खबर)

आहा ! स्कुलमै बसेर पढ्न पाइने भयो (भिडियाे खबर)

ADVERTISEMENT

म्याग्दी- विकट क्षेत्रका विपन्न बालबालिकालाई सहज रूपमा आधारभूत स्तरको शिक्षाको पहुँचमा ल्याउन म्याग्दीको धवलागिरि गाउँपालिकाले आवासीय विद्यालय संचालन गरेको छ । 

 

धवलागिरि- ७ शिवाङको हेम माविलाई नमुना आवासीय माविमा रूपान्तरण गरेको हो । छात्राबासमा निःशुल्क खाने, बस्ने सुविधा दिएपछि भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रका विपन्न तथा अनाथ बालबालिकाहरूलाई सहज रूपमा शिक्षा हासिल गर्न सुविधा पुगेको छ । 


सरकारी विद्यालयमा आवासीय सुविधा भएपछि दैनिक दुई-तीन घण्टा दुःख, कष्टका साथ भिर, जंगल र खोलाको बाटो पैदल हिँडेर स्कुल जानुपर्ने यहाँका विद्यार्थीका समस्या हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छाड्ने क्रम घटेको छ । 


विद्यालयमै बसेर पढ्न पाएकामा कक्षा ८ मा पढ्ने भुवन थापाले खुसी व्यक्त गरे । धवलागिरि- ७ बगर घर भएका थापा यसअघि धारापानीको किसानी माविमा पढ्नका लागि दैनिक तीन घण्टा हिँड्थे । ‘८ बजे नै खाना खाएर स्कुल पुग्दा भोक लाग्थ्यो’, उनले भने, ‘साँझ साढे ५ बजे घर आउँदा थकाइ लागेर गृहकार्य गर्न सकिँदैनथ्यो । अहिले सजिलो भएको छ ।’


हाल कक्षा १ देखि १० सम्म अध्ययन गर्ने २२ जना बालबालिकाले आवासीय सुविधा पाएका छन् । पालिकाभर आवासीय विद्यालयमा राख्नुपर्ने ७६ जना विद्यार्थी पहिचान भएका छन् । उनीहरू सबैलाई आवासीयमा भर्ना गर्ने तयारी छ ।


पालिका र प्रदेश सरकारको साझेदारीमा योजना 


धवलागिरी गाउँपालिका र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारीमा चालू शैक्षिक सत्रदेखि संचालन भएको आवासीय विद्यालयमा गरिब, अपांग, अभिभावकविहीन, अनाथ र नजिक विद्यालय नभएका कारण शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ । 


विकट र थोरै घरधुरीको बसोबास भएको वस्तीका बालबालिकाहरू आधारभूत स्तरको शिक्षा हासिल गर्नका लागि दैनिक दुई-तीन घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने, पढ्नका लागि डेरा र आफन्तकहाँ बस्नुपर्ने समस्या अन्त्यका लागि आवासीय विद्यालय संचालन गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । 

 

‘एउटा वस्तीबाट अर्को वस्तीमा पुग्न दुई-तीन घण्टा हिँड्नुपर्ने अवस्था छ । थोरै घरधुरी भएका त्यस्ता गाउँमा विद्यालय संचालन गर्न विद्यार्थी संख्या पुग्दैन । नजिक विद्यालय नभएकाले धेरै बालबालिकाले पढ्न नपाउने अवस्था छ’, उनले भनिन्, ‘विकटका साथै अभिभावक अपांग भएका, अभिभावक नभएका र अरूको घरमा बसेका बालबालिकालाई पनि शिक्षाको पहुँचमा ल्याउन प्रदेश सरकारले अघि सारेको अवधारणाअनुसार आवासीय विद्यालय सुरु गरेका हौँ ।’ 


आवासीय विद्यालय संचालन र व्यवस्थापनका लागि गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले १५ लाख ९७ हजार र सामाजिक विकास मन्त्रालयले दुई लाख ८० हजार रुपैयाँ सहयोग गरेका हेम माविका प्रधानाध्यापक शेरबहादुर केसीले बताए । 


‘तत्कालाई पुरानो छात्राबास भवनमा फर्निचर र लत्ताकपडाको व्यवस्थापन गरेर विद्यार्थीलाई राखिएको छ’, उनले भने, ‘गाउँपालिकाको सहयोगमा होस्टेल बस्ने विद्यार्थीलाई खाना, खाजा, पोसाक, स्टेसनरी सामग्रीको निःशुल्क व्यवस्था गरेका छौँ ।’ 


उनका अनुसार छात्राबासका एक जना वार्डेनसहित तीन जना कर्मचारीको तलब गाउँपालिकाले उपलब्ध गराएको छ । 


सामाजिक विकास मन्त्रालयको सहयोगमा आवासीय विद्यालयको छात्राबासलाई व्यवस्थित बनाउन झिनडाँडामा एक करोड एक लाख ९० हजार रुपैयाँको लागतमा १० कोठे पक्की छात्राबास भवन निर्माणाधीन छ । गत वर्ष ठेक्का लागेर कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएको भवनलाई यसपालि पूर्णता दिन लागिएको गाउँपालिकाका इञ्जिनियर सोविन जीसीले बताए ।


चालू आर्थिक वर्षमा आवासीय विद्यालयलाई प्रदेश सरकारले दुई करोड र गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेका छन् । न्यून विद्यार्थी संख्या भएका विद्यालय समायोजन गरी त्यहाँका विद्यार्थीहरूलाई पनि आवासीय विद्यालयमा भर्ना गरेर माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने नीति लिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल बताउँछन् । 


‘आवासीय विद्यालयलाई प्रभावकारी रूपमा व्यवस्थित र निरन्तर संचालनका लागि दीर्घकालीन योजना बनाउन आवश्यक ठानेका छौँ’, उनले भने ।