close

पालिकाका २० खबर: प्रहरीले फाँड्यो राक्सिराङको गाँजा, टेलिकममा किन लाग्यो भोटे ताल्चा ? (भिडियाे खबर)

पालिकाका २० खबर: प्रहरीले फाँड्यो राक्सिराङको गाँजा, टेलिकममा किन लाग्यो भोटे ताल्चा ? (भिडियाे खबर)

ADVERTISEMENT

जनप्रतिनिधिको मूल्यांकन उनीहरुले गर्ने गतिविधिले गर्छ ।  देशभरका ७५३ पालिकामा पुल, बाटो शिलान्यासदेखि छोरालाई जागिर नदिएको भन्दै पालिकामा ताला लगाउनेसम्मका गतिविधि जनप्रतिनिधिले गरे । आज दिनभर पालिकामा केके भयो ? पढौं र हेरौं यी २० खबर ।

 


१) दार्चुलाको अपिहिमाल गाउँपालिकाले कोरोनाको असरबारे जानकारी लिन खटायो स्वास्थ्यकर्मी गाउँगाउँमा, अब घरमै पाउने भए पालिकाबासीले स्वास्थ्य सेवा ।

 

२) कोरोना संक्रमणको जोखिमका कारण गत चैतदेखि बन्द रहेका पर्वतका सात वटै स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु, विद्यार्थीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता । 

 

३) इलाम नगरपालिकाको चोकबजारमा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण, नगरप्रमुख महेश बस्नेतले गरे प्रतिमाको अनावरण ।

 

४) मोरङमा २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको घटनामा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ, प्रहरीद्वारा अनुसन्धान सुरु ।

 

५) काठमाडौं महानगरपालिकामा दुई हजार आधुनिक बत्ती जडान गरिँदै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यबीच सहमतिपत्रमा हस्ताक्षर ।

 

६ ) चितवनको इच्छाकामना गाउँपालिका-६ जलवीरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुर्घटनामा १५ जनाभन्दा बढी घाइते ।

 

७) सर्लाही ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रबाट सालको गोलियासहित दुई जना पक्राउ, वन कार्यालयले कारबाही प्रक्रिया अघि बढायो ।

 

८) व्यावसायिक रूपमा कस्तुरी मृग पाल्न जाजरकोटको बारेकोट गाउँपालिकाको सक्ला रानीचौरमा कस्तुरी प्रजनन केन्द्र स्थापना गरिने, भवन निर्माण सुरु ।

 

९ कालीकोटको पलाँता गाउँपालिका-९ मा १५ शय्याको अस्पताल सञ्चालन, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे उद्घाटन ।

 

१०) आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै महोत्तरीको बर्दिवास नगरपालिका, कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम ।

 

११) खोटाङको बराहपोखरी गाउँपालिकाले बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर-टहरा हटाउन दियो समय, स्थानीयले अटेर गरे बल प्रयोग गरेर हटाइने ।

 

१२) खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ५ दुर्छिममा सामुदायिक मेलमिलाप केन्द्र स्थापना, स्थानीय विवादलाई अब मेलमिलापको माध्यमबाट मिलाइने ।

 

१३) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले सुरु गर्‍यो ‘द्वार एक, सेवा अनेक’ अभियान, पालिका र वडाका भवनहरू बनाइने ।

 

१४) पर्वतमा बन्ने भयो, साहसिक खेलका लागि जिपलाइन, कुस्मा नगरपालिका-५ चाक्लेको डिलबाट साउने बगरसम्म बन्ने १४ सय मिटरको जिपलाइनको शिलान्यास ।

 

१५) धनुषाको धनौजी गाउँपालिका- ३ का वडाध्यक्ष रामदुलार मण्डलले आफ्नो छोरालाई गाउँपालिकामा जागिर नदिएको आक्रोशमा पालिका प्रमुखको कार्यकक्षमा नै ताल्चा, सेवा प्रभावित ।


१६) लैंगिक हिंसा अन्त्य गर्न जुट्यो कञ्चनपुर प्रहरी, सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन ।

 

१७) बाग्मती प्रदेशका २८ वटा पालिकासँग लालपुर्जा वितरणका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगले गर्‍यो सम्झौता, सम्झौतापत्रमा आयोगका उपसचिव वसन्तप्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले गरे हस्ताक्षर ।

 

१८) दाङको तुलसीपुर उपमहानगरपालिकाको पातु खोलामा मोटरेबल पुल बन्ने, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरे पुलको शिलान्यास ।

 

१९) मोबाइल नेटवर्कमा आएको समस्या टेलिकमले समाधान नगरेको भन्दै हुम्लाबासीले नेपाल टेलिकमको कार्यालयमा लगाए ताला, सेवा झन् प्रभावित ।

 

२०) र मकवानपुरको राक्सिराङ गाउँपालिकाका ६ वटा वडाका करिब २ सय बिघाभन्दा बढी क्षेत्रमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गर्‍यो ।