close

प्रधानमन्त्रीले दिने पुरस्कारको प्रतीक्षामा पाख्रिबास

एउटै पार्टीले सबै सिट जित्ने नेपालकै एक मात्र नगरपालिका

प्रधानमन्त्रीले दिने पुरस्कारको प्रतीक्षामा पाख्रिबास

एउटै पार्टीले सबै सिट जित्ने नेपालकै एक मात्र नगरपालिका

ADVERTISEMENT

धनकुटा- तत्कालीन नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा ५२ वटै सिट जितेर ऐतिहासिक रेकर्ड बनाएको धनकुटाको पाख्रिबास नगरपालिकालाई पुरस्कृत नगरेकोप्रति नगरबासीको गुनासो छ । स्थानीय निर्वाचनको समय प्रधानमन्त्री केपी ओली रहे पनि नगरपालिकालाई सम्मान नगरिएको उनीहरू बताउँछन् । 

 

‘एउटै पार्टीले सबै सिट जित्ने नेपालकै एक मात्र नगरपालिका पार्खिबास भए पनि एमालेकै मुख्यमन्त्री र प्रधानमन्त्री हुँदासम्म  केही भएन,’ स्थानीयले दुःखेसो पोखे । 

 

निर्वाचित भए लगत्तै काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेका पार्खिबास नगरपालिकाका नगरप्रमुख वृषबहादुर राई त्यतिबेला आफूहरूले जित हासिल गरेको खबर सुनाउँदा ओलीले पुरस्कार दिने वचन दिएको सुनाउँँछन् ।

 

नगरप्रमुख राई भन्छन्, ‘मेरो दोहोर्‍याएर भन्ने बानी छैन । प्रधानमन्त्रीले बिर्सिनु त नपर्ने हो । दिनुहोला नि पुरस्कार ।’

 

नगरप्रमुख र नगरबासीले अपेक्षा गरेको पुरस्कार नगद वा जिन्सी भने होइन । त्यस्तो पुरस्कारस्वरुप एउटा ठूलो योजना संघीय सरकारले देओस् भन्ने अपेक्षा छ, पाख्रिबासको ।

 

मुख्यमन्त्रीले पनि एउटा बृहत् योजना पठाउने आश्वासन दिएको सम्झिन्छन्, नगरप्रमुख राई । उनी भन्छन्, ‘मेयर कपको उद्घाटनमा आउँछु भनेर मुख्यमन्त्रीले भन्नुभएको छ । त्यतिबेला आएका बेला फेरि एक पटक सम्झाउँछु ।’  निर्वाचनमा जाँदा आफूले जनतालाई धेरै सपना नबाँडेको बताउँछन्, नगरप्रमुख राई । 

 

निर्वाचनमा प्रतिबद्धता गरेका तीन योजनामध्ये पहिलोमा बाह्रै महिना गाडी चल्न मिल्ने सडक, खानेपानी अभाग भोगिरहेका जनतालाई पानी खुवाउने, दोस्रोमा शैक्षिक गुणस्तर वृद्धि गर्ने र तेस्रोमा अस्थायी वा काठको बिजुली पोल हटाएर स्थायी पोल गाड्ने रहेको नगरप्रमुख राई बताउँछन् । 

 

तीनवटै प्रतिबद्धता करिब करिब सम्पन्न हुन लागेको उनको बुझाइ छ । ‘निर्वाचित जनप्रतिनिधिसँग जनताको अपेक्षा धेरै छ । पाख्रिबास नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग अपेक्षा गर्ने ठाउँ पनि छ’, नगरप्रमुख राई भन्छन्,  ‘प्रधानमन्त्रीले दिने भनेको पुरस्कार यो कार्यकालमा आयो भन्न सकेनौं भने जनताले हामीलाई के भन्लान् ?, तीन तहमै हाम्रै पार्टीको सरकार भएका बेला जनताले केही पाएनौं भने अर्काे चुनावमा हामीले उनीहरूलाई के भन्ने ?’