close

सुनकोसीको आर्क पुल : कहिले बन्ने टुङ्गाे छैन, म्याद थपेको थप्यै 

अख्तियारको तकेता, निर्माण व्यवसायीको बेवास्ता

सुनकोसीको आर्क पुल : कहिले बन्ने टुङ्गाे छैन, म्याद थपेको थप्यै 

अख्तियारको तकेता, निर्माण व्यवसायीको बेवास्ता

Trulli
ADVERTISEMENT

खोटाङ- दिक्तेल-गाईघाट सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका- ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका- ५ आँपटार जोड्ने सुनकोसी पुल निर्माण सम्झौता अवधिभित्र नसकिने भएको छ । 

 

पहिलोपल्ट थपिएको म्याद गुज्रिन लाग्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति करिब ५० प्रतिशत मात्र पूरा भएको हो । सुरुको म्याद गुज्रेपछि थप भएको समय सकिन जम्मा तीन साता मात्र बाँकी छ ।

 

खोटाङलाई पूर्वी शहरसँग जोड्ने आर्क डिजाइनको पुलको हालसम्म दुवैतर्फको पिलर उठाउने, राइट ब्यांकमा २५ मिटरको सुपरस्ट्रक्चर स्ट्यान्ड निर्माण, फाउन्डेसनलगायतका काम मात्र पूरा भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का साइड इन्जिनियर रवि शाहले बताए । ‘पुलको बीचमा ९० मिटरको आर्क राख्ने, लेफ्ट ब्यांक (खोटाङतर्फ)मा रक काटेर सुपरस्ट्रक्चटर ढलानलगायतका काम बाँकी नै छन्’, शाहले भने ।

 

पहिलोपल्ट थप भएको म्याद निर्माण जिम्मा पाएको गौरी पार्वती वाइपी जेभीको ढिलासुस्तीका कारण समयमै पुल बन्न नसक्ने देखिएको छ । पुल निर्माणको सम्झौता आउँदो १३ पुसमा सकिँदै छ । सार्वजनिक खरिद (नवौँ संशोधन) नियमावलीअन्तर्गत यो पुलको पहिलोपल्ट म्याद थप भएको थियो । 

 

ढिलासुस्तीको विरोध 

 

करिब १९ करोड ६० लाख रुपैयाँमा पूरा गर्ने गरी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति सुस्त छ । २३ चैत २०६९ मा ठेक्का लागे पनि २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरेर काम थालिएको पुलको म्याद गत २०७५ चैतमै सकिएको थियो ।

 

पुल निर्माणमा ढिलासुस्ती भएपछि जिल्लाबासीले विरोध गर्दै आएका छन् । ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममै ठेकेदारको आलोचना हुने गरेको छ । 

 

पुल निर्माणमा ढिला भएको भन्दै संघीय सांसद विशाल भट्टराईले गृहमन्त्री रामबहादुर थापासमक्ष गत ५ कात्तिक २०७५ मा ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए । 

 

सुरुमा २४ चैत २०७३ सम्म पूरा गर्ने गरी फोक्सिङटारमा सस्पेन्सन ब्रिज निर्माणका लागि २३ चैत २०६९ मा ठेक्का लागेको थियो । तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्न २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो ।

 

फोक्सिङटार खोटाङ र पूर्वी सहर जोड्ने प्रमुख नाका हो । जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जयरामपछिको अर्को महत्त्वपूर्ण फोक्सिङटार पुलको कामको गति अत्यन्तै सुस्त देखिएको केही समयअघि निर्माण स्थल पुगेर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

 

फोक्सिङटारको भौगोलिक अप्ठेरोका कारण सस्पेन्सन ब्रिज निर्माणमा ढिलाइ हुने देखिएपछि डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनमा बनाउन सुरु गरिएको थियो । 

 

दोस्रो पटक डिजाइन स्वीकृत नहुन्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । ठेकेदारले पुल निर्माणमा ढिलासुस्ती हुनुको कारण डिजाइन परिवर्तन र स्वीकृतिमा भएको अलमललाई देखाउने गरेका छन् ।


तर, नयाँ डिजाइन स्वीकृत भएयताको पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती देखिएको स्थानीय बताउँछन् । बाढीका कारण पुलको काम हरेक बर्खायाममा ठप्प हुने गरेको छ । 


ठेक्का लागेको लामो समय बित्दासमेत फोक्सिङटार पुललगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक-पटक विरोध गर्दै आएका छन् ।

 

ढिलासुस्तीविरुद्ध गत २४ माघ २०७२ मा सडक विभागमा धर्ना दिएका जिल्लाबासीले २३ चैतमा कार्यालय नै घेराउ गरेका थिए । सडक विभाग घेर्न जिल्लाबाट निर्वाचित सांसद, नेता र नागरिकमाथि समेत प्रहरी हस्तक्षेप भएको थियो ।

 

२४ चैत २०७२ मा समयमै पुल निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै सदरमुकाम दिक्तेलमा विरोध र्‍याली नै निकालेको थियो । 

 

बेलगाम ठेकेदार 

 

सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको जिम्मा लिएका ठेकेदारले पटक-पटक आफैँले गरेको प्रतिबद्धता बिर्सिएका छन् । ठेकेदार र उनका प्रतिनिधिले २०७४ असारसम्म उदयपुरतर्फको जगको काम सक्ने आफ्नै लक्ष्यसमेत पूरा गर्न सकेनन् ।

 

यस्तै, गत १९ साउन २०७४ मा सडक विभागमा बसेको बैठकमा निर्माण व्यवसायीले २०७५ असार मसान्तसम्म पुलको सब-स्ट्रक्चर, दुइटा टी-ग्रिडर ब्रिज स्ल्याब र आर्कका लागि आवश्यक अस्थायी फ्रेमवर्क जडान गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धताअनुसार काम भएकै छैन ।


यस्तै, फोक्सिङटारको पुल निर्माणमा भएको ढिलासुस्तीका विषयमा सडक विभागमा गत १२ माघ २०७४ मा बोलाइएको बैठकमा पनि ठेकेदारले महिना दिनभित्र देखिने प्रगति हुने प्रतिबद्धता जनाएका थिए ।

 

पुनः पुल निर्माण ढिलासुस्ती भएपछि बोलाइएको बैठकमा पुल निर्माणको प्रगति शून्य देखिएको भन्दै २०७५ चैत मसान्तसम्म पूरा गर्ने गरी १ साताभित्र कार्यतालिका तयार पारेर पेस गर्न ठेकेदारलाई निर्देशन नै दिइएको थियो । तर, अहिलेसम्म निर्देशन दिनेबाहेक अरू प्रगति भएको छैन ।

 

ढिलासुस्तीमा अख्तियारको चासो 


फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ ।   ठेक्का लागेको वर्षौंसम्म पुल निर्माणको प्रगती शून्य देखिएपछि अख्तियारले चासो देखाएको हो ।

 

पुल निर्माणमा ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पूरा गर्ने गरी कामलाई अघि बढाउन अख्तियारले २ माघ २०७४ मा पत्राचार गरेको थियो ।