close

बुइपामा निःशुल्क स्वास्थ्य शिविर, १८८ स्थानीय लाभान्वित 

बुइपामा निःशुल्क स्वास्थ्य शिविर, १८८ स्थानीय लाभान्वित 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १८८ स्थानीयले सेवा पाएका छन् । 


स्वास्थ्य परीक्षण एवं औषधिका लागि साविकको सदरमुकाम दिक्तेलमा रहेको जिल्ला अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गर्दै वडा कार्यालय र स्वास्थ्यचौकी बुइपाले शुक्रबार पञ्चरदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका हुन् । 


निःशुल्क स्वास्थ्य शिविरबाट बुइपा, बिजयखर्क, राजापानी र अर्खौलेका सर्वसाधारण लाभान्वित भएको बुइपा स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए । 


स्वास्थ्य शिविरमा वृद्धवृद्धा, त्यसमा पनि महिलाले धेरै सेवा लिएका छन् । स्वास्थ्य शिविरमा सबैभन्दा बढी प्रेसर, सुगर, मुटु, दम, नसा र थाइराइडसम्बन्धी समस्या भएका बिरामी स्वास्थ्य जाँचमा आएका थिए । 


स्वास्थ्यमा जटिल समस्या देखिएका स्थानीयलाई स्वास्थ्य परीक्षणसँगै तत्काल अस्पताल जानका लागि सल्लाह दिइएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताए । शिविरमा आङ खसेका पाँच महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै दुई जनाको रिङ प्रेसरी राखिएको छ । 


जनतालाई आफ्नै गाउँमा स्वास्थ्य जाँच गर्ने, औषधि निःशुल्क प्रदान गर्ने र स्वास्थ्य समस्या बुझेर समयमै रोगको निदान गर्ने व्यवस्थाका लागि स्वास्थ्य शिविर आयोजना गरिएको बुइपा- १४ का वडा अध्यक्ष दिनेश राईले बताए । स्वास्थ्य सेवाका लागि स्थानीय घन्टौँ हिँडेर शिविरमा आएका थिए । 


शिविरमा जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिक र हलेसी तुवाचुङ नगरपालिका अस्थायी कोभिड अस्पातालका डा. कृष्णकुमार राउतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए ।