close

क्षीरेश्वरनाथमा प्रदेश २ कै नमुना सर्प दंश उपचार केन्द्र संचालन

क्षीरेश्वरनाथमा प्रदेश २ कै नमुना सर्प दंश उपचार केन्द्र संचालन

Trulli
ADVERTISEMENT

धनुषा - धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा प्रदेश २ कै नमुना सर्प दंश उपचार केन्द्र संचालनमा आएको छ । २२ शय्याको सर्प दंश उपचार केन्द्र आजदेखि संचालनमा आएको हो ।


उपचार केन्द्रको भवन निर्माण संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले गरेको छ भने क्षीरेश्वरनाथ नगरपालिकाले उपकरण तथा संचालनको व्यवस्थापन गरेको नगरप्रमुख योगेन्द्र पञ्जियारले जानकारी दिए ।


यूएनडीपीको एक करोड २० लाख रुपैयाँको लगानीमा भवनको निर्माण भएको छ भने उपकरण, शय्यासहितका अन्य व्यवस्थापनमा नगरपालिकाको एक करोड गरेर दुई करोड २० लाख रुपैयाँको लागतमा सर्प दंश उपचार केन्द्रको निर्माण भएको छ । सर्प दंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएका चिकित्सकसहितको प्राविधिक टोलीले गर्ने भएको छ । 


केन्द्रमा उपचार निःशुल्क हुने बताइएको छ । केन्द्रको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक कार्यक्रमका बीच गरेका छन् । मुख्यमन्त्री राउतले सर्प दंश उपचार केन्द्रले यस क्षेत्रका जनतालाई अकालमा मृत्यु हुनबाट जोगाउन प्रभावकारी उपचार गर्ने विश्वास व्यक्त गरे ।


क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले सर्प दंश उपचार केन्द्रको संचालनका लागि तत्काल १५ लाख तथा वार्षिक रूपमा १० लाख रुपैयाँ नगरपालिकाले प्रदान गर्ने बताए ।


सर्प दंश उपचार केन्द्र धनुषाको महेन्द्रनगरमा सञ्चालनमा आएपछि धनुषा, महोत्तरी तथा सिरहा जिल्लाका अतिरिक्त सीमावर्ती भारतका जनताले पनि निःशुल्क उपचार पाउने भएका छन् ।