close

तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा 

तिलोत्तमामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा 

Trulli
ADVERTISEMENT

रूपन्देही - तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो । नगरपालिकाले स्थानीय पाठ्यक्रमका बारेमा विषय शिक्षकहरूलाई प्रबोधीकरणसमेत गराएको छ । 


नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको बताए । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू छन् ।

 
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा-व्यवसाय, शिक्षा, सामाजिक संघसंस्थालगायतका विषय समेटिएको छ । 


स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकाले यो विद्यार्थीका लागि रुचिकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताए । स्थानीय पाठ्यक्रममा सरसफाइसँग सम्बन्धित ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’को अवधारणलाई पनि समेटिएको छ । 


पूर्ण सरसफाइ उन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाइको व्यावहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाटै दिने गरी त्यसलाई पाठ्यक्रममा समेटेको हो । 


चकलेट, जंक फुडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधरणा ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’को रहेको छ । यस अवधारणाको व्यावहारिक कार्यान्वयनले सरसफाइमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । 


नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएपछि तिलोत्तमाले त्यसको अभ्यास गरेको हो । 


विद्यालयहरूले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन  गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतका सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।


समितिले विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल तथा अन्तक्र्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रूप दिएको संयोजक भुसालले बताए । पाठ्यक्रम निर्माण समितिका सदस्यहरूमा टंकप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्य सचिव शारदा भट्टराई रहेका छन् ।