close

कुरो मिल्यो, जिम्मा नापी प्राविधिकलाई !

कुरो मिल्यो, जिम्मा नापी प्राविधिकलाई !

Trulli
ADVERTISEMENT

मुस्ताङ– करिब डेढ दशकदेखि विवादित म्याग्दी र मुस्ताङ जिल्लाको सिमा विवाद दुवैपक्षको सहमतिपछि टुंगिएको छ । नापी बिभागका प्राबिधिकले स्थलगत अध्ययन गरेर पहिचान गर्ने सिमानालाई दुबै जिल्लाका बासिन्दाले स्विकार गर्न सहमत देखिएपछि विवाद मिल्ने अवस्थामा पुगेको हो । 

 

मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार म्याग्दी र मुस्ताङ स्थित जिल्ला समन्वय समितिको अगुवाइमा सिमा बिवाद समाधानका उपायका बिषयमा बृहत छलफल भएको छ । 

 

छलफलमा दुवै जिससका पदाधिकारी, सिमानामा पर्ने अन्नपूर्ण र थासाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाहरुको उपस्थिति थियो । 

 

मुस्ताङको थासांग गाउपालिकाको वडा न. ४ र म्याग्दीको अन्नपूर्ण गाउपालिकाको वडा न. ३ दानाको सिमानामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भुगोल दुवै जिल्लाका बासिन्दाले दावी गरेपछि बिवाद चुलिएको हो ।   

 

सिमा बिवाद समाधान गर्न गत वर्षको पुष २३ गते नै बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको थियो । कोरोनाको जोखिम र लकडाउनका कारण गत वर्षको सोहि निर्णय कार्यान्वयनमा छलफल केन्द्रित भएको हो । 

 

निर्णय कार्यान्वयनका लागि नापी बिभागका प्रबिधिक ल्याएर सिमाना पहिचान गरि बिवाद समाधान गर्न दुई जिल्लाको तीन/तीन जना प्रतिनिधि सदस्य रहेको समिति गठन भएको  जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीले जानकारी दिए । 

 

समितिमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी, थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष क्षेत्री, दानाका वडा अध्यक्ष नरसिंह पुर्जा, घाँसाका वडा अध्यक्ष बिशाल गौचनका साथै म्याग्दी र मुस्ताङका नापी अधिकृत रहेका छन् । 

 

समितिलाई नापी बिभागसँग समन्वय गरेर प्राबिधिक टोली ल्याई जिपिएसको माध्यमबाट बादरजुङ भिरको सिमाना पहिचान गर्न जिम्मेवारी दिने निर्णय भएको छ । नापी बिभागका प्राबिधिकले स्थलगत अध्ययन गरेर पहिचान गर्ने सिमानालाई दुबै जिल्लाका बासिन्दाले स्विकार गर्न सहमत भएका छन् । 

 

कालीबराहको बिवाद समाधानका लागि अर्को चरणमा अध्ययन गर्ने छलफल भएको थियो । दाना र घाँसाका वडा अध्यक्षले सिमानाका बिषयमा प्रस्तुत गरेको दावी, तथ्य, नक्सा र प्रमाण बाझिएपछि नापी बिभागको प्राबिधिक टोलीको सहयोग लिने निर्णय भएको हो । 

 

सिमानामा प्रवेशद्धार निर्माण, वन र जडिवुटि प्रयोग गर्ने क्रममा म्याग्दीको दाना र मुस्ताङको घासाका बासिन्दा बिच सिमा बिवादले सामाजिक दन्द्ध बढाएको थियो । जिसस मुस्ताङका प्रमुख छिरिङ ल्यामो गुरुङले सिमानामा प्रवेशद्धार बनाउन पचास लाख रुपैयाँ बिनियोजन गरेपनि बिवादका कारण कार्यान्वयन हुन नसकेको बताइन् । 

 

थासांग गाउपालिकाका अध्यक्ष बुद्धीप्रसाद शेरचन र अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले प्राबिधिक अध्ययन प्रतिवेदनको आधारमा बिवाद समाधान गर्न प्रस्ताव गर्नुभयो । म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी र मुस्ताङका प्रजिअ हिरादेवी पौडेलले तत्थ्य, प्रमाण र छलफलको माध्यमबाट सिमानाको बिवाद समाधान गर्न सुझाब दिनुभएको थियो । 

 

सिमा क्षेत्रको जंगलमा चरिचरन, जडिवुटी संकलन र वनको उपभोग गर्ने विषयमा सिमा बिवाद हुदा दाना र घासा तथा लेतका बासिन्दाहरुबीच बिवाद छ । कालीगण्डकीको तिरदेखि धौलागिरि हिमालको फेदीसम्म म्याग्दी र मुस्ताङको सिमाना जोडिएको छ । 

 

अहिले मुस्ताङको घासा लेतेका बासिन्दाले बादरजुङ भिरको झोलुङ्गेपुल यताको तुरतुरे धारा सिमाना भएको दावी गर्दै आएका छन् । म्याग्दीको दानाका बासिन्दाले पुल देखि मुस्ताङतर्फ रहेको खोल्सालाई सिमाना भएको दावी गर्दै आएका छन् । 

 

यसअघि २०६६ तीर सिमानामा स्वागत बोर्ड राख्न आएका मुस्ताङका बासिन्दा र दानाका स्थानीयबिच झडपको स्थिति आएको थियो । बिवाद र झडपको अवस्था आएपछि उनिहरु बोर्ड नराखी फर्किएका थिए । यसैगरी कालीबराहको चरन क्षेत्रको सिमा बिवाद सुल्झाउन रघुगंगा, थासाङ र अन्नपूर्ण गाउपालिका बिच त्रिपक्षीय छलफलको तयारी भएको छ ।