गुल्मी- मध्यरातमा घरमाथिबाट आएको पहिरोले श्रीमती र दुई छोराछोरीसहित घरगोठ गुमाएका सत्यवती- ४ लिम्घाका धनबहादुर विकको मन अझै विक्षिप्त छ ।
तत्कालीन समयमा घर नभएका कारण पहिरोले विक मात्र बचेका हुन् । पहिरोले भिरकुनाका एक दर्जन घर बगायो । पहिरोको सबैभन्दा ठूलो क्षति धनबहादुरको परिवारमा पर्यो । एकै टोलका करिव एक दर्जन व्यक्तिले सोही पहिरोमा ज्यान गुमाए ।
धनबहादुर भर्खर भारत पसेका थिए रोजगारीका लागि । अचानक बिहानै गाउँको दुखद् खबर सुने उनले । उनी त्यहीँ पीडाले मुर्छा परे । एक हप्तामै घर आए । कहाँ बस्ने ? के खाने ? अलमल परे ।
आफूबाहेक परिवारमा कोही थिएनन् । गाउँघरमा सन्नाटा र दुःख मात्र थियो । उनी गाउँ आउँदा राम्रोसँग बर्षात् रोकिएको थिएन । पहिरोले टुटेका सडक र फुटेका खानेपानीका मूल अझै बनेका थिएनन् ।
विपद्कै बीच आएका तीज, दशैँ र तिहारले धनबहादुरको मन भत्भती पोल्थ्यो । विकलाई जीवन कटाउन निकै मुस्किल पर्यो । उनले डेढ वर्षसम्म छिमेक र आफन्तकहाँ गरेर ज्यान पाले । दुःखले दुई बर्खा र एक हिउँद चिसो थेगेका धनबहादुरले अहिले भने बल्ल घर पाएका छन् ।
नयाँ घर रङरोगनले चिटिक्क छ । पक्की शौचालयसहितको आकर्षक छ घर । अब आगो र पहिरोको कुनै डर छैन उनलाई । तर, यति सुन्दर घरकै डिलमा उभिएका धनबहादुरको ओठमा भने खुसी छैन ।
‘घर बन्यो, परिवार छैनन्, मन भक्कानिन्छ । यो घरमा सबै परिवार बस्न पाएको भए कस्तो हुन्थ्योे होला ?’, उनले भने, ‘केही न केही राहत महसुस भएको छ ।’
विकले परिवार भएकाहरूलाई घरले ठूलो राहत दिएको बताए । तर, आफ्ना कोही पनि नभएकाले राज्यले रोजगारी दिए जीविकोपार्जनमा सहज हुने आशा व्यक्त गरे ।
सोही स्थानकी माया विकले पनि घर पाएकी छन् । उनले घर मात्र पाएकी हुन् । तर, उनले पाएको घरको निर्माण पूरा भएकै छैन । विक पनि दुई वर्षसम्म पहिरोले चर्किएकै घरमा बसिन् । डेढ वर्षमा घरले छानो र शौचालयले साइफन पाएको छ ।
उनीसँग पाखुरा नबजारे हात-मुख जोड्ने उपाय छैन । गाउँपालिकाले दिएको अहिलेकै घरमा बस्न सक्ने कुरै भएन । अरूको जस्तै चिटिक्क आफ्नो घर कसरी बनाउने भन्ने पिरलोले मायालाई सताउन थालेको छ अहिले ।
उनले पहिरोको उच्च जोखिममा परेका परिवारअन्तर्गत तीन लाख ५० हजार रुपैयाँ प्रदेशबाट पाएकी हुन् । त्यही रकमबाट निर्माण कम्पनीले घर छाएर र शौचालयमा साइफन मात्र राखेर छाडिदियो ।
‘प्लास्टरका लागि एक लाख २० हजारमा ठेक्का दिएकी छु, काम गरेर खाने मान्छेलाई धेरै आपत पर्यो’, उनले भनिन्, ‘ऋण कसरी तिर्ने ?’
पहिरोले सत्यवती गाउँपालिका वडा ३ र ४ मा थुप्रै मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । अहिले भौतिक क्षतिको पुनर्निर्माणको काम भइरहेको छ ।
सत्यवती गाउँपालिका- ४ मा गाउँपालिकाले जग्गाको व्यवस्थापन गरेर अहिले १५ घर पहिरोपीडित परिवारलाई हस्तान्तरण गरिएको सत्यवती गाउँपालिका- ४ का वडा अध्यक्ष दानबहादुर रानाले जानकारी दिए ।
वडा नं.- ३ ठूलोलुम्पेकका पहिरोपीडितका लागि घर निर्माणको काम भइरहेको छ । सत्यवती गाउँपालिकाले पूर्ण क्षति भएका परिवारलाई पाँच लाख र प्रदेश सरकारले उच्च जोखिममा भएका प्रति परिवार तीन लाख ५० हजार रुपैयाँमा घर निर्माण गरिरहेको रानाले बताए ।
जग्गा प्राप्ति र कार्यविधि निर्माणमा भएको विलम्बलगायतका कारण सत्यवती गाउँपालिकाका वडा ३ र ४ का पहिरोपीडित परिवारले भनेकै समयमा घर पाएनन् भने बल्लतल्ल सुरु भएको पुनर्निर्माणको काम पनि लकडाउनका कारण सोचेअनुसार अगाडि बढेन ।
घरबार गुमेका कैयौँ पहिरोपीडित परिवारको घर निर्माणको काममा सुरसार नै छैन भने स्थानीय तथा प्रदेश सरकारले पुनर्निर्माणको कामको अनुगमन समयमै गर्न नसकेका कारण गुणस्तरीय काम नभएको विस्थापित परिवारको गुनासो छ ।
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले आफूहरूले विस्थापित परिवारकै पक्षमा रातदिन काम गरिरहेको भए पनि केही कानुनी र व्यवस्थापकीय समस्या तथा कोरोनाका कारण समयमै काम नभएको बताए ।
उनले विपद्का बेला देश, विदेशबाट संकलन भएको रकमले पूर्ण क्षति भएका घर परिवार र प्रदेशबाट उच्च जोखिममा भएका परिवारको घर निर्माणको काम भएको जानकारी दिए ।
उनले तीन लाख ५० हजार रुपैयाँमा घर बनाउने विषय चुनौतीपूर्ण भएकाले कम बजेटका कारण घरको पूरा काम र मर्मतसम्भार गर्न नसक्नेहरूका विषयमा ठोस निर्णय केही दिनमै गर्ने बताए । पानी, बिजुलीमा समेत सहयोग गर्ने प्रतिवद्धता ढकालले गरे ।