close

दिक्तेलमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ : बाआमालाई अब घरघरमै औषधि उपचार

दिक्तेलमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ : बाआमालाई अब घरघरमै औषधि उपचार

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपामा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ । 


७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घरघरमै औषधि उपचारको व्यवस्था गर्ने प्रयास स्वरूप वडा कार्यालय र स्वास्थ्यचौकी बुइपाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरेको हो ।

 

नगरपालिका तथा वडाको कुनै पनि योजना तथा कार्यक्रमले प्रत्यक्ष रूपमा नछोएका ज्येष्ठ नागरिकलाई राहत दिनेगरी ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको बुइपाका वडा अध्यक्ष दिनेश राईले बताए । 


‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उद्घाटन गरेका छन् ।

 

वडाभित्रका हरेक ज्येष्ठ नागरिकलाई हरेक दुई महिनामा घरैमा पुगेर स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने गरी ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको हो । 


७० वर्ष पुगेका ३०८ जना ज्येष्ठ नागरिकको प्रोफाइल (व्यक्तिगत विवरण) नै तयार पारेर कार्यक्रम सुरु गरिएको बुइपा स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए । 


‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’अन्तर्गत हरेक दुई महिनामा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य परीक्षण गर्ने सामग्री र औषधिसहितको झोला बोकेर ज्येष्ठ नागरिकको घरमा पुग्नेछन् ।

 

घरैमा पुगेका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको सुगर, प्रेसर जाँच गर्ने, उनीहरूले सेवन गरिरहेको औषधि किनेर निःशुल्क उपलब्ध गराउने र जटिल समस्या देखिए तत्काल अस्पताल जानका लागि सल्लाह दिनेछन् ।


कोरोना कहरका कारण लागू गरिएको लकडाउनका समयमा सबैभन्दा बढी ज्येष्ठ नागरिक मारमा परेको देखिएपछि वडा स्वास्थ्य समितिको निर्णयअनुसार ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको वडा अध्यक्ष राईले बताए ।

 

घरघरमा पुग्ने स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा र त्यसबाट पाइने सेवा सुविधा लिने प्रक्रियाका बारेमा पनि बताउने जनाइएको छ । 


बुइपामा करिब ४१२ जना ज्येष्ठ नागरिक छन् । स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि ज्येष्ठ नागरिकको स्वास्थ्य स्थितिदेखि रक्त समूह, उचाइ, तौलसम्मका विवरण संकलन गरिएको छ । 


‘असोजमा घर तथा टोलमा पुगेर वडाका ज्येष्ठ नागरिकको प्रोफाइल तयार पारिएको छ । कुन ज्येष्ठ नागरिकलाई कुन रोग लागेको छ ? कुन औषधि खाँदै छन् ? आर्थिक अवस्था कस्तो छ ? भन्ने हेल्थ प्रोफाइल बनाएका छौँ’, वडा अध्यक्ष राईले भने, ‘त्यही प्रोफाइलका आधारमा स्वास्थ्यकर्मीले दुई महिनामा एक पटक घरैमा पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिनेछन् ।

 

कमसेकम ज्येष्ठ नागरिकलाई औषधि उपचार निःशुल्क उपलब्ध गराउने हाम्रो लक्ष्य हो ।’ हेल्थ प्रोफाइल बनाइएका ४०-४५ जना ज्येष्ठ नागरिक भने हाल बाहिर छन् । 


वडा कार्यालय र स्वास्थ्यचौकी बुइपाले हरेक शुक्रबार पञ्चरदोबाटोमा लाग्ने हाटमा डेस्क खडा गरेर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।

 

कोरोना महामारीका क्रममा पञ्चरदोबाटोमा हेल्थ डेस्क खडा गरेको वडा कार्यालय र स्वास्थ्य चौकीले लकडाउन खुलेपछि हाटका दिन सोही ठाउँबाट स्वास्थ्य चौकीबाट प्राप्त हुने सेवा सरह सेवा प्रवाह गर्दै आएको जनाएको छ । हाटका दिन विशेषगरी भिटामिन, गर्भनिरोेधक साधन वितरण भइरहेको वडा अध्यक्ष राईले बताए ।