close

विश्वकै अग्लो त्रिशूल भक्तपुरकाे छालिङमा बन्दै

विश्वकै अग्लो त्रिशूल भक्तपुरकाे छालिङमा बन्दै

Trulli
ADVERTISEMENT

भक्तपुर-  चाँगुनारायण नगरपालिका वडा नं- ५ छालिङमा बन्ने विश्वकै अग्लो त्रिशूलको शिलान्यास भएको छ ।

 

छालिङस्थित धार्मिक महत्त्वको दोलागिरि पर्वतमा रहेको मूलकोटगढी महाँकाल त्रिशूलडाँडामा बनाउन लागिएको विश्वकै अग्लो त्रिशूल स्थापनाको शिलान्यास पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गरेका हुन् ।

 

विश्व शान्ति राष्ट्र कल्याण हेतु कुल दुई करोड ७० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको त्रिशूलको उचाइ जमिनको सतहबाट ११३ फिट हुनेछ भने जमिनमुनि करिब साढे आठ फिट हुनेछ । उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण खड्काका अनुसार भित्री भागमा फलाम र बाहिरी भागमा तामाको धातुले लेपन गरी निर्माण गरिने योजना छ ।

 

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका आक्रमण गर्दा यो ठाउँमा मूल गढी बनाएकाले यसको ऐतिहासिक महत्त्व रहेको बताउँदै उनले मूलकोट गढी महाँकालमा विश्वकै अग्लो त्रिशूल स्थापना भएपछि पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।

 

सो डाँडाबाट काठमाडौंको साँखु, भक्तपुरका फाँटहरूका साथै मनास्लु हिमाल, लाङटाङ, गणेश हिमाल, जुगल हिमाल, गौरीशंकरलगायतका हिमालसमेत देख्न सकिने भएकाले पर्यटनको गन्तव्यसमेत बन्न सक्ने सम्भावना रहेको उनी बताउँछन् ।

 

यसका अलावा सो डाँडामा पञ्चमुखी हनुमान, सन्तोषी माताको मन्दिर, शिवलिंग तथा गोरखनाथ मन्दिर रहेका कारण धार्मिक महत्त्व पनि रहेको छ ।

 

मूलकोटगढीमा विश्वकै अग्लो त्रिशूलबाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मूलकोट गढीद्वार, सत्तल, त्रिशूलडाँडादेखि साँखुसम्म जोड्ने सिंढी मार्गलगायत निर्माण गर्ने गुरुयोजना छ ।