close

बुटवल उपमहानगरमा व्यावसायिक उत्पादन : फसल धितो राखेर किसानले पाउलान अनुदान ?

बुटवल उपमहानगरमा व्यावसायिक उत्पादन : फसल धितो राखेर किसानले पाउलान अनुदान ?

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवलले प्राथमिकतामा राखेको शहरी कृषि प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । उक्त कार्यक्रमअन्तर्गत बेमौसमी तरकारी खेतीदेखि धान र गहुँको उत्पादन बढाउनेसम्मका कामलाई व्यवस्थित बनाइएको छ ।

 
शहरी कृषि उत्पादकत्व बढाउने, किसानलाई व्यावसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर अनुदानसम्मका कार्यक्रम बुटवलमा संचालित छन् ।


शहरी कृषिमा समर्पित किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोगदेखि अनुदान हुँदै फसल धितो राखेर अनुदान दिने र उन्नत जातको बिउ आफैँ उत्पादन गर्नेसम्मका काम भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


शहरी कृषिअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरूमा हौसला बढ्दै गएको र शहरमा पनि जैविक उत्पादनको माग बढिरहेको उनको दाबी छ ।


शहरी तरकारी खेती प्रवर्द्धनका लागि किसानको उत्पादनलाई व्यावसायिक बनाउने पहल भइरहेको बताउँदै प्रमुख सुवेदीले कृषि उत्पादनको मागलाई सकेसम्म स्वदेशी उत्पादनले आपूर्ति गर्ने गरी कृषि प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताए ।


बेमौसमी खेतीमा आधुनिक औजार-मेसिन, उन्नत बिउ-बीजन, विषादी, मल, थोपा सिँचाइ, रासायनिक मलका लागि निर्देशिका नै बनाएर सहकारीमार्फत वितरण, नवीनतम प्रविधि स्थलगत प्रदर्शन गर्नुका साथै किसानमैत्री प्रविधिहरूको प्रयोगलाई प्राथमिकतामा राखिएको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । 


दैनिक दुई हजार किलो च्याउ उत्पादन हुँदै


शहरी कृषि प्रवर्द्धनलाई थप प्रभावकारी गराउने गरी अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बुटवलमा दुईवटा च्याउ पकेट क्षेत्र र धानको बिउ पकेट क्षेत्र निर्धारण गरिएको छ । बुटवलमा च्याउको माग धान्ने गरी र धान खेती हुने ठाउँमा गुणस्तरीय धानको बिउको माग थेग्ने गरी पकेट क्षेत्र निर्धारण गरिएको छ । 


भिजन कृषि सहकारी संस्था बुटवल- १३ ले संचालन समन्वय समिति नै बनाएर च्याउको उत्पादन गरेको छ । आधुनिक तरिकाले २० वटा डुम हाउस निर्माण गरेर च्याउको उत्पादन भइरहेको समितिका सचिव तथा उद्यमी महिला अगुवा जमुना पोखरेलले बताइन् ।


यस्तै, बुटवलको वडा नं.- १८ मा पनि व्यवस्थित डुम हाउस निर्माण गरेर कन्य च्याउको उत्पादन गरिएको छ । वडा नं.- १८ मा बुटवल जैविक तरकारी उत्पादन कृषक समूह गठन गर्दै च्याउ उत्पादन गरिएको समन्वय समितिका संयोजक खिलेन्द्र पुन मगरले बताए । 


प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छनोट भएका च्याउ खेतीका यी दुई ठाउँमा कम्तीमा दुई हजार किलो च्याउको बिउ प्रयोग गरिएको उपमहानगरका कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए । त्यस क्षेत्रका किसान, अगुवाहरूको समन्वय समिति गठन गरेर प्राविधिक तहको ज्ञान र सीपसमेत सिकाइएको प्रमुख जीसीले जानकारी दिए । 


यहीँ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन वडा नं.- १६ मा रहेको आदर्श कृषि सहकारीमार्फत् ४०० रोपनीभन्दा धेरै क्षेत्रफलमा धानको बिउ उत्पादन गर्ने गरी पकेट क्षेत्र निर्धारण गरिएको थियो । सोहीअनुरूप गुणस्तरीय धानको बिउ उत्पादनका लागि सक्रिय भएको सहकारीका कार्यक्रम संयोजक चन्द्रकान्त आचार्यले बताए । 


स्वदेशी उत्पादन बढ्दै


कृषि उत्पादकत्व वृद्धिका लागि प्राविधिकसहितको अध्ययन कार्यदल बनाएर बुटवल उपमहानगरले शहरी कृषि प्रवर्द्धन कार्यक्रम संचालन गरिरहेको छ । यसले स्वदेशी तरकारीको उत्पादकत्व बढाएको छ ।


पहिले फूल रोप्ने वा त्यसै छाड्ने ठाउँमा अहिले कम्तीमा हरियो धनियाँ रोप्न थालिएको छ । जग्गा भएका ठाउँमा व्यावसायिक रूपमै र नभएका ठाउँमा कौसी तरकारी खेती भइरहेको बताउँदै बुटवल उपमहानगरपालिकाका अनुगमन समतिकिा संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले किसानमा प्रोत्साहन जगाउन आफूहरू सफल भएको दाबी गरिन् ।


अहिले पकेट क्षेत्रका रूपमा च्याउको खेती भइरहेका दुई ठाउँमा मात्र दैनिक दुई हजार किलो च्याउ उत्पादन सुरु भइसकेको छ । अधिकांश भारतीय उत्पादन बिक्री वितरण हुँदै आएको बुटवलको तरकारी तथा फलफूलको थोक कृषि उपज केन्द्रमा पछिल्लो समय स्थानीय उत्पादन बढ्दै गएको छ ।


खेतीयोग्य ठाउँमा व्यावसायिक रूपमा र खेतबारी नभएका ठाउँमा घरको छत तथा कौसीमा फलाइएका विभिन्न जातका तरकारीलाई बुटवल उपमहानगरपालिकाले प्रवर्द्धन गरिरहेकाले किसानमा हौसला बढेको र अरू समुुदायमा पनि उत्पादनमा चासो बढाएको पाइएको उपप्रमुख आचार्यको भनाइ छ । 


धान र गहुँ धितो राखेर अनुदान


बुटवल उपमनगरपालिकाले मुलुकमै पहिलो पटक किसानहरूको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको सुरुवात गरेको थियो । उपमहानगरले अनुदानका रूपमा किसानलाई वितरण गरेको मौलिक पोषक बिउबाट उत्पादित धानलाई धितोका रूपमा राख्ने व्यवस्था मिलाइएको छ ।

 
चालू आर्थिक वर्षका लागि ५०० मेट्रिक टन धान र २७५ मेट्रिक टन गहुँलाई धितो राखेर किसानले अनुदान लिने गरी उपमहानगर र सहकारीबीचमा सम्झौता भएको छ । 


सोही क्षेत्रमा अहिले उन्नत जातको धान र गहुँको बिउसमेत उत्पादन सुरु भएको छ । धान खेतीका लागि उपयुक्त योजनाअनुसार हालै बुटवल- १४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।