close

झाडीकी ‘मानवी’लाई नगरप्रमुखको अभिभावकत्व

झाडीकी ‘मानवी’लाई नगरप्रमुखको अभिभावकत्व

Trulli
ADVERTISEMENT

काभ्रे- सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले अभिभावक पाएकी छन् । नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका हुन् । 


मानवीको अभिभावकत्वसँगै उनको अन्नप्रासनसमेत शनिबार सम्पन्न गरिएको छ । धुलिखलस्थित मानव कल्याण समाजले संचालन गरेको सेवा घरमा मानवीको अन्नप्रासन गरिएको हो । सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरूले मानवीलाई भेटेका थिए । 


मानवी आमाको गर्भमा रहेको सात महिनामै जन्मिएकी थिइन् । मानसिक अवस्था कमजोर भएकी आमाबाट जन्मिएकी उनलाई जन्मेको १७औँ दिनमा उद्धार गरिएको थियो ।

 

उद्धार गर्दा अत्यन्तै नाजुक अवस्थामा रहेकी उनको स्वास्थ्य अहिले पूर्ण रूपमा ठीक भइसकेको छ । हाल उनमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएको छैन । 


मानव कल्याण समाजले उद्धार गरेपछि उनको २५औँ दिनमा न्वारन गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले बताइन् । ती बालिकाको समाजले नै ‘मानवी’को रूपमा नामकरण गरिदिएको हो ।


नमोबुद्ध नगरका प्रमुख टीपी शर्मा तिमल्सिनाले यसअघि छ जना बालबालिकाको शिक्षादीक्षाका लागि अभिभावकत्व ग्रहण गरिसकेका छन् । उनले ती बालबालिकालाई आफ्नो जन्म दिनको अवसर पारेर शिक्षा खर्च उपलब्ध गराउने गरेका छन् । आफूले सातौँ नातिनीको रूपमा मानवीको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए । 


सडक मानवमुक्त नेपाल बनाउने मानव कल्याण समाजको अभियानमा आफू र नगरपालिका पनि जोडिएको भन्दै उनले मानवीको शिक्षादीक्षालगायतका कुरामा आगामी दिनमा सहयोग गर्ने बताए । मानवीको अन्नप्रासनका लागि नगरप्रमुख तिमल्सिना श्रीमती सरस्वती तिमल्सिनासहित उपस्थित भएका थिए ।

 

तिमल्सिना दम्पतीले मानवीको मामाघरको हजुरबुबा-हजुरआमाको रूपमा अभिभावकत्व ग्रहण गरेका छन् । नगरप्रमुख तिमल्सिनाले समाजका लागि सेवा घर निर्माण गर्न नमोबुद्ध नगरपालिकाभित्र आवश्यक जग्गा उपलब्ध गराउने घोषणासमेत गरेका छन् । आगामी वर्षदेखि आफ्नो जन्म दिनसमेत सेवा घरमा रहेकाहरूको सेवा गरेर मनाउने पनि तिमल्सिनाले बताए ।


नमोबुद्ध नगरपालिका र मानव कल्याण समाजबीच सहयोग आदानप्रदानबारे सम्झौतासमेत भएको छ । सम्झौताअनुसार समाजले सडकमा रहेका बेवारिसे मानिसको उद्धार गर्नेछ भने सम्भव भएकालाई परिवारमा पुनर्स्थापनाकाे काम गर्नेछ ।

 

यसका लागि नगरपालिकाले समाजलाई एक लाख १११ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 


नगरप्रमुख तिमल्सिनाले सम्झौतामा उल्लेख भएअनुसारको एक लाख १११ रुपैयाँको चेक अध्यक्ष चौलागाईंलाई हस्तान्तरण गरेका छन् । मानवीको अन्नप्रासनका लागि लागेको सम्पूर्ण खर्चसमेत नमोबद्ध नगरपालिकाले व्योहोर्नेछ ।


कार्यक्रममा पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले सडक मानवमुक्त नेपालको अभियानमा आफू र पाँचखाल नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् ।

 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मानवीका लागि आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सडक मानवमुक्त नेपाल निर्माणका लागि अघि बढेको मानव कल्याण समाजसँगको सहकार्यलाई समेत नगरपालिकाले प्राथमिकता दिने बताए ।


कार्यक्रममा नमोबुद्ध नगरपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनाल, विभिन्न सामाजिक अभियन्ताहरूले सडक मानवमुक्त नेपाल निर्माणको अभियानको प्रशंसा गर्दै अभियानको सफलताका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । 

 

कार्यक्रममा बेवारिसे मानिसको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्ने, सेवा घर संचालनका लागि सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।


बेवारिसे मानिसहरूको उद्धार गर्दै आइरहेको मानव कल्याण समाजले भक्तपुर, काभ्रेको धुलिखेल र दाङ गरी तीन ठाउँमा सेवा घर संचालन गर्दै आइरहेको छ । त्यसमध्ये भक्तपुरमा ५० जना रहेका छन् भने धुलिखेल र दाङमा २५/२५ जनाले आश्रय लिइरहेका छन् । 


सेवा घरमा सानो उमेरदेखि वृद्धावस्थासम्मका व्यक्तिहरूले आश्रय लिइरहेका छन् । तीमध्ये कतिपय दीर्घरोगीसमेत रहेका छन् भने कतिपयको मानसिक अवस्था स्थिर नरहेको समाजले जनाएको छ । 


सात जना युवाहरूको सक्रियतामा २०७२ सालको भूकम्पपछि सडकमा रहेकाहरूलाई खाना खुवाउने क्रममा सुरु भएको समाजमा हाल २१ जना पूर्णकालीन अभियन्ता रहेका छन् । समाजले अहिलेसम्म कुनै पनि विदेशी दाताबाट सहयोग रकम नलिएको अध्यक्ष चौलागाईंले बताइन् ।