close

पर्यटक तान्दै थिङ्लाबुकाे मेरिङ्देन झरना

पर्यटक तान्दै थिङ्लाबुकाे मेरिङ्देन झरना

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं.- ४ साँवामा रहेको फुङ्फुङ्गे झरनाको व्यापक चर्चासँगै मेरिङ्देन गाउँपालिका वडा नं.- १ थिङ्लाबुमा रहेको मेरिङ्देन झरनाले पर्यटक तान्न थालेको छ । 


एकै पटक छवटा झरना हेर्न पाइने भएकाले यो झरनामा पर्यटकीय आकर्षण थपिन थालेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । फुङ्फुङ्गे झरनाझैँ मेरिङ्देन झरनाको पनि ऐतिहासिक महत्त्व रहेको छ । 


हजारौँ वर्ष पहिले रचिएको लिम्बू ग्रन्थ मुन्धुममा यस क्षेत्रको व्याख्या गरिएको स्थानीय डम्बर ओख्राबु सुनाउँछन् । झरना छेउ रहेको ओसाङ्लुङमा (बिजुवा) लिम्बू जातिहरूको पुजारीको उत्पत्ति भएको केन्द्र हो भन्ने मान्यता रहेको छ । 


मेरिङ्देन गाउँपालिका वडा नं.- १ थिङ्लाबुको उपल्लो वस्ती लेचुवाबाट करिव दुई घण्टाको पैदल दूरीमा पुग्न सकिने यस क्षेत्रमा जान गाउँपालिकाले गोरेटो बाटो निर्माण गरेको छ ।

 

झरनाको अवलोकन र धार्मिक अनुष्ठानका लागि मेरिङ्देन आउनेहरूको संख्या बढ्दै जान थालेपछि गाउँपालिकाले त्यहाँ पुग्न मोटरबाटो बनाउने योजनासमेत बनाइरहेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू बताउँछन् । 


त्यसका लागि आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजनामा गाउँपालिका रहेको उनले सुनाए । भिर माहुरी, मृगथार, घोरल आदि सजिलै देख्न सकिने भएकाले यो क्षेत्र प्राकृतिक रूपले पनि उत्तिकै सजिएको गाउँपालिका भएको प्रवक्ता बराइलीले जानकारी दिए ।