close

आफ्नै सिंहदरबार बनाउँदै छ फुङ्लिङ सरकार

आफ्नै सिंहदरबार बनाउँदै छ फुङ्लिङ सरकार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- भाडामा रहेका ‘गाउँका सिंहदरबार’ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा दिने गरी धमाधम निर्माण कार्य थालेका छन् । फुङ्लिङ नगरपालिकाले पनि ‘आफ्नालागि आफ्नै भवन’को नीति लिएर नगरपालिका र वडापालिकाका भवन धमाधम बनाउन थालेको छ । 


नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार भाडामा रहेको नगरपालिका आउँदो आर्थिक वर्षको सुरुमै फुङ्लिङ नगरपालिका वडा नं.- ७ स्थित आफ्नै भवनमा सर्ने भएको छ । नगरपालिकाको भवन अहिले निर्माणाधीन अवस्थामा छ । 


‘आफ्नालागि आफ्नै भवन’ अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका वडा नं.- ४ ले शनिबारदेखि भवन निर्माण कार्य प्रारम्भ गरेको छ । नगरपालिकाको न्यूरोड क्षेत्र नजिक भवन बनाउन सुरु गरेको हो । वडा नं.- ४ को प्रशासकीय भवनको शनिबार फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले शिलान्यास गरेका छन् । 


नगर उप्रमुख बमबहादुर भट्टराई (तारा), प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की, नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभाका सदस्यसहितको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । वडा अध्यक्ष जितेन चेम्जोङ लिम्बूका अनुसार आउँदो वैशाख महिनाभित्रमा भवन पूरा भई वडापालिकाले नयाँ भवनबाटै सेवा वितरण गर्ने योजना छ । 


फुङ्लिङस्थित डेभिड निर्माण सेवाले दुई तल्ले पाँच कोठे र शौचालय तथा नुहाउने कक्षसहितको भवन भ्याटसहित ५२ लाख रुपैयाँको लागतमा बनाउने गरी ठेक्का पाएको छ । भवनको कूल अनुमानित लागत अनुमान भने भ्याटसहित ७४ लाख रुपैयाँको रहेको वडा अध्यक्ष लिम्बूले बताए । 


नगरपालिकाका अनुसार ११ वटा वडामा आफ्नै भवन बनाउन सुरु गर्ने वडा नं.- ४ दोस्रो वडा भएको छ । यसअघि वडा नं.- १ ले पनि आफ्नै प्रशासकीय भवन बनाउन सुरु गरिसकेको छ । नगरप्रमुख प्याकुरेलले यही कार्यकालमा नगरपालिका र नगरभित्र रहेका वडाका आफ्नै प्रशासकीय भवन बनाउने बचनबद्धता गरेका छन् ।