close

तुलसीपुरमा अनलाइनबाट घर नक्सा पास, सेवाग्राहीलाई कार्यालय जानै नपर्ने

तुलसीपुरमा अनलाइनबाट घर नक्सा पास, सेवाग्राहीलाई कार्यालय जानै नपर्ने

Trulli
ADVERTISEMENT

दाङ- डिजिटल तुलसीपुरको अभ्यास गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले आगामी १ पुसदेखि अनलाइन नक्सा पासलाई अगाडि बढाउने भएको छ । अनलाइन सेवा आरम्भका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सेवाग्राहीले कार्यालयमा नगएरै यस्तो सेवा लिन सक्ने जनाइएको हो । 


घर निर्माण गर्ने व्यक्तिले कुनै पनि कन्सल्टेन्सीबाट घरको डिजाइन गरेर अनलाइनबाट रजिष्ट्रेसन गर्नेछ । कार्यालयमा अनलाइनबाटै प्राविधिकले त्यसको प्राविधिक पक्षका बारेमा अध्ययन गर्नेछ । त्यसपछि अनलाइनबाटै डिजिटल फाइल तयार भएर वडामा जानेछ । वडाबाट त्यहाँको इन्जिनियरले फिल्डको अध्ययन गरेपछि राजस्व तिरेर घर नक्सा पासको फाइल लैजान सकिने इन्जिनियर अखिल पोख्रेलले जानकारी दिए । 
   

अनलाइन सेवा सूचारुका लागि सबै तयारी पूरा भएको भन्दै इन्जिनियर पोख्रेलले कागजात बोकेर कार्यालयमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘कार्यालयमा नटेकेरै सेवाग्राहीले सेवा लिन सक्नेछन्’, उनले भने । यूएनडीपीको सहयोगमा सफ्टवेयर तयार पारिएको पनि उनले जानकारी दिए । 


अनलाइनबाट सेवा सुचारु भए नक्सा पासको काम पारदर्शी हुने उनको भनाइ थियो । सफ्टवेयरलाई कार्यालयका कर्मचारी या सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि चलाउन सकिने भएकाले सहज भएको उनले बताए । ‘कहिलेकाहीँ कामको चाप भएको बेलामा घरबाट पनि काम गर्न सकिन्छ’, पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिए । 
  

घर निर्माणका लागि आवश्यक पर्ने कन्सल्टेन्सी र तालिमप्राप्त मिस्त्रीका बारेमा पनि सफ्टवेयरमा जानकारी राखिएको उनले बताए । ‘हामीकहाँ निकै कम कन्सल्टेन्सीहरू छन् । यो संख्या बढाउन सके राम्रो हुने देखिन्छ’, उनले भने । सफ्टवेयरको प्रयोग गर्दा सेवाग्राहीले कहाँनेर र किन काम रोकिएको छ भन्नेबारेमा घरमै बसेर जानकारी पाउन सक्नेसमेत उनले बताए । 


स्मार्ट सिटीको अवधारणा पूरा हुँदै छः प्रमुख पाण्डे


पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर स्मार्ट सिटीको अवधारणाबाट अगाडि बढिरहेको बताए । उनले केही समय अगाडि कार्यालयलाई क्यासलेस बनाएको जानकारी दिँदै पेपरलेस बनाउनका लागि काम अगाडि बढिरहेको जानकारी दिए । 


‘स्मार्ट सिटीको आधार तयार गर्दै अगाडि बढिरहेका छौँ’, नगरप्रमुख पाण्डेले भने । उनले अनलाइन सेवाले अनावश्यक ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य भएको समेत जानकारी दिँदै घर नक्सा पासको मापदण्डका बारेमा कडाइ गरिरहेको बताए ।  अनलाइन सेवा सुरु भएसँगै मापदण्डमा थप कडाइ हुने कुरामा उनको जोड थियो  । अनलाइन सेवाले तुलसीपुरको शासन प्रणाली सुधारमा भूमिका खेल्ने उनको विश्वास थियो । ‘अब घरमै बसेर सेवाग्राहीले मेरो फाइल कहाँ छ भन्नेबारेमा जानकारी पाउनुहुनेछ’, उनले भने । 
   

लुम्बिनी प्रदेशमा पहिलो पटक तुलसीपुरले घर नक्सा पास सेवा अनलाइनबाट सुरु गर्ने तयारी गरिरहेको भए पनि विविध कारणले बुटवलपछि दोस्रो भएको समेत बताए । ‘हामी निर्वाचित भएदेखि नै हामीले अनलाइन सेवालाई प्राथमिकतामा राखेका छौँ’, उनले स्मरण गरे । 


तुलसीपुरले देशकै नमुनाका रूपमा विविध कठिनाइ हुँदा पनि घटना दर्ता र राजस्व तिर्ने कुरालाई अनलाइन गरेको समेत उनले बताए ।