close

स्थानीय तहमा सडकबिनै गाडी किन्ने हाेड

संखुवासभाका १० स्थानीय तहले गाडी खरिदमै सके ४ करोड

स्थानीय तहमा सडकबिनै गाडी किन्ने हाेड

संखुवासभाका १० स्थानीय तहले गाडी खरिदमै सके ४ करोड

Trulli
ADVERTISEMENT

संखुवासभा - संखुवासभाको विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर माात्र सडक सुविधा छ । भोटखोला गाउँपालिकामा ७ किलोमिटर सडक सञ्चालनमा रहेपनि पालिकाले ४० लाख ७५ हजार रुपैयाँमा स्करपियो गाडी खरिद गरेको हो ।


किमाथांका–जोगवनी सडकअन्तर्गत भोटखोलाको ठाडो खोलाबाट वरुण दोभानसम्म यातायात सञ्चालनमा छ । ७ किलोमिटर सडकमा हिउँदको समय मात्र गाडी चल्ने गरेको भोटखोला–३ का स्थानीय वाङ्दाबी भोटे बताउँछन् ।


भोटेले भने,‘सडक सञ्जाल नपुगी गाडी किन्नु गाउँपालिकाका लागि बोझ मात्र हो । केन्द्रसम्म गाडी लैजान नसक्ने अवस्थामापनि गाँउपालिकाले गाडी र मोटरसाइकल खरिद गरेको छ ।’


गाडी गाउँपालिका केन्द्र जानेभन्दा पनि सदरमुकाम खाँदबारीमै मात्र सञ्चालन हुने गरेको छ । सडक सन्जाल नै नपुगेको भोटखोलामा प्रत्येक वडाले समेत मोटरसाइकल खरिद गरिसकेका छन् । जनप्रतिनिधिले सदरमुकाममा चलाउनमात्रै गाडी खरिद गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । स्थानीय पैदल ४÷५ दिन लगाएर सदरमुकाम खाँदबारी सेवा लिन आउने गरेका छन् ।


भोटखोलाले विभिन्न कारण देखाउँदै गाउँपालिकाको सम्पर्क कार्यालयसदरमुकाम खाँदबारीमा घर भाडामा लिएर स्थापना गरेको छ । गाडी खरिदसँगै चालक, इन्धन र मर्मत खर्च बढ्ने भएकाले गाउँपालिकाका लागि उपयुक्त नभएको भोटखोला– ४ का वाङ्छेर भोटे बताउँछन् । ‘पूर्वाधार विकासको बजेट यातायात खरिदमा खर्च गर्नु हुँदैन’, उनले भने ।


भोटखोलामा अहिलेसम्म विद्युत्, सञ्चार, इन्टरनेट र सडक पुग्न नसकेकाले कार्यालय सदरमुकाम खाँदबारी राख्नु परेको गाउँपालिकाले दाबी गरेको छ ।
भोटखोलाका हरेक कामसदरमुकाममै गरिने हुँदा गाडी खरिद गर्नु आवश्यक भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । ‘गाउँपालिकामा बैंक, विद्युत्, सञ्चार, इन्टरनेट नहुँदा गाउँमै योजना सम्झौता भए पनि खाता खोल्न, पैसा झिक्न सदरमुकाम खाँदबारीमै धाउनुपर्छ’, पालिका अध्यक्ष भोटे भन्छन् ।  


गाउँगाउँमा सिंहदरबार भनिएपनि दुर्गमका जनताले अझै सदरमुकाममै धाउनुपर्ने बाध्यता रहेको अध्यक्ष भोटे बताउँछन् । गाउँपालिकाका पुराना ४ वटा मोटरसाइकल भए पनि सदरमुकाम खाँदबारीमा नै राखिएको छ ।  


सभापोखरी गाउँपालिकाले पनि ४० लाख ५० हजार रुपैयाँमा महिन्द्रा कम्पनीको पिकअप स्करपियो खरिद गरेको गाउँपालिका प्रमुख रत्न सुब्बाले जानकारी दिए । सभापोखरी गाउँपालिकाले ३ थान मोटरसाइकल पनि खरिद गरेको छ । पाँचखपन नगरपालिकाले ३६ लाख रुपैयाँमा महिन्द्रा कम्पनीकोस्करपियो गाडी खरिद गरेको छ ।


केही महिनाअघि सुनसरीको भन्टाबारीमा दुर्घटनामा परेपछि चलाउन नसक्ने अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । यस्तै, पाँचखपनले  २० लाख रुपैयाँमा ८ वटा मोटरसाइकलसमेत खरिद गरेको छ ।


सिलिचोङग गाउँपालिकाले सडक सन्जाल नपुगेसम्म गाडी खरिद नगरिने बताएको छ । गाउँपालिका प्रमुख रामबहादुर राई  अरुण नदीमा पुल नबनेसम्म गाडी खरिद नगरिने बताउँछन् ।


सिलिचोङ गाउँपालिका जान अरुण नदी तरेर भोजपुर हुँदै सिलिचोङ पुगिन्छ । अरुण नदीमा पक्की पुल नभएकाले गाउँपालिकाको विकासमा बाधापुगेको अध्यक्ष राईको भनाइ छ ।


सिलिचोङ गाउँपालिकाले २ लाख ८५ हजारको दरले ३ वटा मोटरसाइकल भने खरिद गरेको छ ।  अधिकांश वडामा सडक सन्जाल पुगेका सिलिचोङमा अरुण नदीमा पक्की पुल नहुँदा चारपांग्रे सवारीसाधन लैजान सक्ने अवस्था छैन । 


चिचिला गाउँपालिकाले पनि पिकअप स्करपियो ३६ लाख ६० हजार रुपैयाँमा खरिद गरेको जनाएको छ । चिचिला गाउँपालिकाले २ लाख ६५ हजार ९ सय रुपैयाँ एक थान होन्डा मोरसाइकल खरिद गरेको छ भने २ लाख ५६ हजार ५ सय ४८ रुपैयाँ पल्सर मोटरसाइकल खरिद गरेको छ । 


यस्तै, मकालु गाउँपालिकाले ३४ लाखभन्दा बढी मूल्यको महिन्द्रा बोलेरो खरिद गरेकोछ । मकालुले ४ लाख ८० हजार रुपैयाँमा २ थान मोटरसाइकलसमेत खरिद गरेको छ ।


खाँदबारी नगरपालिकामा जनप्रतिनिधि आएपछि ३० लाखमा एउटा बोलेरो गाडी खरिद गरिएको छ । ३८ लाख २५ हजार रुपैयाँमा एउटा ब्याकलोडर पनि खरिद गरेको नगरपालिका कार्यालयले जनाएको छ । खाँदबारी नगरपालिकामा यस अघि नै दुइटा गाडी सञ्चालनमा छन् ।


चैनपुर नगरपालिकाको पुरानो टाटाको एउटा गाडी सञ्चालनमा छ । नगरपालिकाले   जनप्रतिनिधिलाई फिल्ड जान आवश्यक परेको भन्दै  ५ लाखको  एक थान होन्डा मोटरसाइकल खरिद गरेको छ ।


मादी नगरपालिकाकाले  आव ०७५ मा महिन्द्राको एउटा गाडी २३ लाख ८५ हजारमा खरिद गरेको छ । यस्तै, धर्मदेवी नगरपालिकाले ३२ लाख ६० हजारको लागतमा महिन्द्रागाडी खरिद गरेको छ ।


धर्मदेवी नगरपालिकाले नगरप्रमुखको प्रयोजनका लागि भन्दै २ लाख ५५ हजार ४ सय रुपैयाँमा यामाहाको १ थान मोटरसाइकल खरिद गरेको छ ।  उपप्रमुखका लागि यामाहास्कुटर १ लाख ७४ हजार ४ सय रुपैयाँमा खरिद गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।


संखुवासभाका १० स्थानीय तहले ४ करोड रुपैयाँभन्दा बढी सवारी साधन खरिदमा खर्चिएका छन् ।