close

विश्वकै सबैभन्दा अग्लो सीताको प्रतिमा जनकपुरमा बन्ने 

विश्वकै सबैभन्दा अग्लो सीताको प्रतिमा जनकपुरमा बन्ने 

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुरधामको ऐतिहासिक बारह बिघा रंगभूमि मैदानमा विश्वकै सबैभन्दा अग्लो सीता (जानकी)को प्रतिमा निर्माण हुने भएको छ । प्राचीन मिथिलाको राजधानीमा माता सीताको १५१ फिट अग्लो प्रतिमा निर्माणको परिकल्पना अगाडि बढेको जानकी मन्दिरले जनाएको हो ।


प्रतिमा निर्माण हुने स्थान रंगभूमि बारह बिघा मैदानको सौन्दर्यीकरणको काम साथसाथ हुने जनाइएको छ । जानकी मन्दिरको स्वामित्वमा रहेको बारह बिघा रंगभूमि मैदानको स्वरूप यथावत रहने गरी उत्तर-पूर्वको कुनामा सीता स्वयंवर, धनुष यज्ञ प्रतिकात्मक कलासहितको सीता (जानकी)को प्रतिमा निर्माण गरिने जानकी मन्दिरका छोटे महन्थले बताए । 

 

योजनाको डीपीआर पनि निर्माण भएकाले काम पनि यथाशीघ्र सुरु हुने महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । विभिन्न निकायहरूको सहयोगमा रंगभूमि मैदानको सौन्दर्यीकरणको काम सुरु हुने भएको छ । 


नेपाली मूलका अमेरिकी नागरिक काजल कर्णको सहयोगमा उक्त ठाउँमा पर्यटकलाई आकर्षित गर्ने किसिमले पूर्वाधारहरूको निर्माण गरिन थालेको उत्तराधिकारी महन्थ दासले बताए ।


माता सीतालाई अवला होइन, वीराङ्गना नारीको रूपमा प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण तथा सौन्दर्यीकरणको काम गरिने विषयमा जनकपुरधाममा सर्वदलीय तथा सर्वपक्षीय बैठक आइतबार सम्पन्न भएको छ ।


जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संस्थाहरूका प्रतिनिधिले निकै राम्रो कार्य भएकाले चाँडै अगाडि बढाउनका लागि आग्रह गरेका थिए ।


यसको सौन्दर्यीकरणपछि जनकपुरधाममा दर्शनीय स्थलको रूपमा रंगभूमि मैदान पनि थपिने भएको छ । जनकपुरधामको मध्य भागमा रहेको बारह बिघा रंगभूमि मैदानमा त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम तथा माता सीताको बीचमा स्वयंवर सम्पन्न भएको धार्मिक मान्यता रहेको छ ।


स्वयंवरभन्दा अगाडि सोही ठाउँमा धनुष यज्ञ पनि भएको र यज्ञमा विभिन्न देशका राजाहरू सहभागी भएको रामायणमा उल्लेख छ ।


यसको निर्माण भएपछि जनकपुरधामको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय विकासमा थप योगदान पुग्ने विश्वास जनकपुरधामवासीको रहेको छ । यस कार्यमा स्थानीय सरकारको सहयोग भन्ने अपरिहार्य रहेको धनुषा चेम्बरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले बताए ।