close

ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क यातायात

ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क यातायात

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले ज्येष्ठ तथा अपांगता भएका नागरिकलाई दिँदै आएको निःशुल्क यातायात सेवालाई चालू आर्थिक वर्ष पनि निरन्तरता दिएको छ । ज्येष्ठ नागरिक तथा अपांग सम्मान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शत प्रतिशत छुट दिने व्यवस्था मिलाएको गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि निःशुल्क यातायात सेवालाई निरन्तरता दिने भएको हो । 


ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क सडक यात्रा गर्ने व्यवस्थाका लागि खोटाङ यातायात प्रालिसँग सम्झौता गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताइन् ।


गाउँपालिका र खोटाङ यातायात प्रालिबीच साकेला गाउँपालिका-रसुवाघाट-गाईघाट सडक तथा साकेला गाउँपालिका-दिक्तेल-काठमाडौं सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपांगलाई भाडामा शत प्रतिशत छुट दिने सम्झौता भएको छ । 


वृद्धवृद्धा एवं अपांगता भएका व्यक्तिको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले उनीहरूलाई निःशुल्क सडक यातायात सेवाको व्यवस्था गरेको जनाएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले निःशुल्क यात्रा गरेको प्रमाण पेस गरेको आधारमा यातायात व्यवसायीले गाउँपालिकाबाट भुक्तानी पाउने गरी निःशुल्क यातायात सेवा कार्यान्वयनमा ल्याइएको हो । 


खोटाङ यातायात प्रालिको बसबाट यात्रा गर्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा सचिवले प्रमाणित गरेको र वडा कार्यालयको छाप हालिएको टोकन लिएर यात्रा गर्ने व्यवस्था मिलाइएको उपाध्यक्ष खड्काले बताइन् । 


‘लक्षित वर्गले आफ्नो परिचयपत्रको फोटोकपी वडा अध्यक्ष वा वडा सचिवबाट प्रमाणित गराउने, वडा कार्यालयको छाप अनिवार्य लगाएको हुनुपर्ने र मिति अनिवार्य उल्लेख भएको हुनुपर्ने टोकन सिस्टम लागू गरेका छौँ’, खड्काले भनिन्, ‘यसो गर्दा यातायात व्यवसायीलाई भुक्तानी गर्ने क्रममा पारदर्शिता कायम हुन्छ र आपसमा शंका हुँदैन भन्ने हाम्रो बुझाइ छ ।’ 


गत वर्ष प्रालिको बसमा चढेका ज्येष्ठ नागरिक र अपांगले परिचयपत्र देखाउनुपर्ने र बसका कर्मचारीले उनीहरूकोे परिचयपत्र नम्बरसहितको टिकट गाउँपालिकामा बुझाएपछि भुक्तानी दिने-लिने व्यवस्था मिलाइएको थियो । 


वृद्धवृद्धा तथा पूर्ण अशक्त र अतिअशक्त अपांगको निःशुल्क सडक यात्राका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रको सडकमा निःशुल्क यात्राको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

 

ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपांगता भएका सर्वसाधारणलाई यातायातमा सुविधा दिनका लागि गत वर्ष ऐँसेलुखर्क गाउँपालिकाले पनि निःशुल्क यात्रा गर्ने कार्यक्रम लागू गरेको थियो ।