close

निर्वाचन क्षेत्र विकासमा योगेश भट्टराईका ३८ योजना, कहाँ दिए बजेट ?

निर्वाचन क्षेत्र विकासमा योगेश भट्टराईका ३८ योजना, कहाँ दिए बजेट ?

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जनस्तरबाट तीव्र माग भएका केही योजनालाई छाड्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड रुपैयाँ बजेटका ३८ योजना छानेका छन् ।


यसअनुसार आठराई त्रिवेणी गाउँपालिकामा नाबुखोला-भलायो भिर-सिमलधारादेखि पीपलबोटे प्राविसम्मको मोटरबाटोका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, छातेढु‌ंगा मावि खेल मैदान निर्माणमा र सिंहदेवी खेल मैदान निर्माणमा समान १०-१० लाख रुपैयाँ विनियोजन भएको छ ।


मैवाखोला गाउँपालिकास्थित मैवाखोला मावि तेम्बेको ट्रससहितको सभाहलका लागि १९ लाख, चारभैया-खड्काटोल हुँदै भदन भण्डारी लोकमार्ग जोड्ने सडकका लागि १० लाख र हातीखावा ढुंगसाँघु खेल मैदान निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ ।

 

मेरिङ्देनको आगुलुङ्जा-तेन्थाप हुँदै थुकिमा जाने मोटरबाटोका लागि ४० लाख, मिक्वाखोलाको दुङ्जा-चैलुङ्गे-सालबोटे हुँदै खानीखोला जाने सडक निर्माणका लागि १० लाख, सगरमाथा आधारभूत विद्यालय खेल मैदानका निर्माणका लागि सात लाख, साँवा जलविद्युत परियोजनाका लागि पाँच लाख र सिम्बुक जलविद्युत निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ ।


फक्ताङ्लुङको लिङ्खिमस्थित भक्त आधारभूत विद्यालयको घेराबाराका लागि पाँच लाख, साँघु-मादिबुङ जोड्ने मोटरबाटोका लागि २० लाख र मानाभरा कृषि सडक खेजेनिमका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ । फुङ्लिङस्थित जिल्ला बाल कल्याण समितिको भवनमा कोरोना संक्रमितका लागि आइसोलेसन कक्ष बनाउन २० लाख, भुटानेचौक हुँदै बुङ्कुलुङ-सत्रमुढेदेखि रामेटार सडक निर्माणका लागि १० लाख, अँधेरी-मेवाराजा-खोदम्बु हुँदै नाङ्खोल्याङ जोड्ने मोटरबाटो र बालमन्दिर-टीका गुरुङको घर हुँदै नयाँ बसपार्क जाने मोटरबाटो पक्की ढलानका लागि समान सात-सात लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


यस्तै, बालसुबोधिनी माविदेखि केनिम बगैँचा जोड्ने मोटरबाटो निर्माण र दीपज्योति आधारभूत विद्यालय खेल मैदानका लागि पनि समान सात-सात लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


धुपौरे गणेशको घर-टाकुरे-नासपाते कान्छाको घर-रेडक्रस हुँदै गैरी प्रावि फुरुम्बुका लागि पाँच लाख, शहरी स्वास्थ्य इकाइ केन्द्र फुरुम्बुको भवन निर्माणका लागि सात लाख र फावाखोला खेल मैदान निर्माण तथा हिले सामुदायिक भवन निर्माण सुकेटारका लागि समान पाँच-पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।


यस्तै, पराजुली चोकदेखि बिहीबारे हुँदै चण्डेश्वर धाम जाने सडक स्तरोन्नतिका लागि आठ लाख रुपैयाँ विनियोजन भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु शहीद स्मृति सामुदायिक सभागृहका लागि १२ लाख, गुप्ते-तिरिङ्गे सडक स्तरोन्नतिका लागि १० लाख, डुम्रिसे-ओरक्पेदेखि पाथीभराधाम जाने मोटरबाटो र तुमाङ्खे-फावाखोला मोटरेबल पुल जोड्ने सडकका लागि समान आठ-आठ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


सिरिजङ्घास्थित खेवाङ स्पोर्टिङ क्लबको खेल मैदान निर्माणका लागि २० लाख, काबेलीखोला माइक्रो हाइड्रो कुलो निर्माण र मुहान योजना याम्फुदिनका लागि आठ लाख, आम्बेगुदिन (रजा) मावि खेल मैदान निर्माणका लागि १० लाख, जोरपुल-राष्ट्रिय मावि-आँपडाँडा हुँदै खेवाङ मावि जोड्ने मोटरबाटो निर्माणका लागि सात लाख रुपैयाँ विनियोजन भएको छ ।


सिरिजङ्घा गाउँपालिका वडा नं‍.- ३ सिकैचास्थित लक्ष्मी आधारभूत विद्यालयको पहिरो निययन्त्रणका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित हप्पुखोला-मेहेले-रिजनडाँडा हुँदै खेवाङ जोड्ने मोटरबाटोका लागि १० लाख, सिद्धेश्वरी मावि सादेवाको खेल मैदान निर्माणका लागि सात लाख, सुन्तलेखोला लघुजलविद्युत परियोजनालाई केन्द्रीय प्रसारण लाइन मिलान गर्न मेहेलेलाई १५ लाख र खोरिङ्वाघाट-आँगेपा हुँदै सिदिङ्वाधाम जाने मोटरबाटो निर्माणका लागि सात लाख रुपैयाँ विनियोजन भएको छ ।


प्रशासनिक खर्चबापत जिल्ला समन्वय समितिमा पाँच लाख रुपैयाँ जानेछ । मन्त्री भट्टराईले योजना छान्दा फुङ्लिङ जिमीपोखरी धारा तथा पार्क व्यवस्थापन, हप्तामा कम्तीमा तीन दिन ताप्लेजुङमै आँखाका डाक्टर ल्याएर उपचार गर्नेगरी डिचेन डोङ्लाको भवन स्तरोन्नति गर्नेलगायतका तीव्र माग भएका योजना छुटेको भन्दै योजना छनोट प्रक्रियाको आलोचना पनि सुरु भएको छ ।