close

पहिला ३५ घर बनाइदिए, अहिले एम्बुलेन्स किनिदिए

पहिला ३५ घर बनाइदिए, अहिले एम्बुलेन्स किनिदिए

Trulli
ADVERTISEMENT

बाग्लुङ- जिल्लाको पश्चिम वडिगाड गाउँपालिका कटेपछिका तीनवटै स्थानीय तहमा एम्बुलेन्स सेवा थिएन । ढोरपाटन नगरपालिका, निशीखोला र तमानखोला गाउँपालिकाले महामारीको समयमा समेत छिमेकी पालिकाहरूको एम्बुलेन्सको सहायतामा काम चलाए ।


कतिपयले पिकअप भ्यानलाई कोरोना भाइरस संक्रमित बोक्ने अस्थायी एम्बुलेन्ससमेत परिचालन गरे । कोरोना महामारी सुरु हुनुपूर्व यहाँका आकस्मिक उपचार गराउनुपर्ने बिरामीहरू भाडाकै सवारीमा निर्भर रहे । ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएर थन्किएपछि सर्वसाधारण मर्कामा थिए ।


ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले स्थानीय तहको निर्वाचनका बेला भनेका थिए, ‘ढोरपाटनमा एम्बुलेन्स ल्याउँछु, जसले स्वास्थ्य क्षेत्रमा धेरै सहज हुन्छ ।’ 


नेपालीले बाचा गरेको साढे तीन वर्षपछि व्यक्तिगत खर्चमा एम्बुलेन्स ल्याएका छन् । खरिद प्रक्रिया सकिएको भए पनि केही दिनमा नगर कार्यपालिकाको कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण हुनेछ ।


झण्डै ४० लाख रुपैयाँ पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे ११ लाख रुपैयाँमा खरिद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताए । ‘एम्बुलेन्स र कागजात काठमाडौंबाट आउँदै छन् । यहाँ आइपुगेपछि हस्तान्तरण गर्ने तयारी छ’, उनले भने, ‘जिल्लाको पश्चिमका लागि आवश्यक रहेको एम्बुलेन्स मेयर सा’बले व्यक्तिगत खर्चमा खरिद गर्नुभएको हो ।’


ढोरपाटनले एम्बुलेन्स संचालनमा ल्याएपछि छिमेकी पालिका तमानखोला र निशीखोलाका बिरामीलाई सहज हुने उनले बताए । नगर कार्यपालिकाले विधि बनाएर स्वास्थ्य शाखाअन्तर्गत एम्बुलेन्स संचालनमा ल्याउनेछ । 


नगरप्रमुख नेपालीले सामाजिक काममा व्यक्तिगत लगानी गर्ने गरेका छन् । दुई वर्षअघि नवीगाउँमा भएको आगलागीले जलेका ३५ घर नेपालीले व्यक्तिगत लगानीमा बनाइदिएका थिए । 


‘नगरपालिकासँग स्रोत थिएन, कुनै निर्णय पनि भएको थिएन’, भट्टराई भन्छन्, ‘यहाँको आवश्यकता महसुस गरेर प्रमुखज्यूले खरिद गरेको एम्बुलेन्स नगरपालिकाले नै परिचालन गर्ने हो ।’ एम्बुलेन्स आइतबारसम्म ढोरपाटन आइपुग्नेछ ।

 

कुनै समय एम्बुलेन्स नभएर छिमेकी पालिकालाई अनुरोध गर्ने ढोरपाटनले यसै साता अर्को एम्बुलेन्ससमेत पाएको छ । आईएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु गु्रपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ ।

 

व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष द्रोण कुँवरलाई काठमाडौंमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । 


शुक्रबार उक्त एम्बुलेन्स बाग्लुङ आइपुगेको छ । नेपाली कांग्रेस बाग्लुङ- २ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए । 


नगरप्रमुख नेपालीले खरिद गर्ने बाचा गरेपछि पश्चिम बाग्लुङमा एम्बुलेन्स सेवाको अभाव खड्किइरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो । रेडियो संचालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजस्व छुटमा एम्बुलेन्स खरिद गरिएको हो ।


४० लाख रुपैयाँ मूल्य पर्ने एम्बुलेन्स ११ लाख ५७ हजार रुपैयाँमा खरिद गरिएको अध्यक्ष कुँवरले बताए । एम्बुलेन्स गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थामार्फत परिचालन हुनेछ ।