close

सुत्केरी हुनुहुन्छ ? खबर गर्नुहोस्, घ्यू र भाले घरमै आइपुग्छ

सुत्केरी हुनुहुन्छ ? खबर गर्नुहोस्, घ्यू र भाले घरमै आइपुग्छ

Trulli
ADVERTISEMENT

बागलुङ– गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि सुत्केरी नभएसम्म कम्तिमा चार पटक स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्छ । नियमित स्वास्थ्य संस्था पुगेर गर्भको जाँच गरेका महिलालाई सुत्केरी समयमा हुनसक्ने खतरा र गर्भावस्थामा चाहिने पोषणको विषयमा स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । तर सामाजिक मान्यता, लाज र पारिवारिक कारण अझैपनि गाउँका गर्भवती महिला स्वास्थ्य संस्था पुग्दैनन् । खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीलाई जानकारी गराउँदैनन् ।

 

परिवारमा चेतना, समाजमा सन्देश र महिला स्वयंलाई उत्साहित बनाउँदै स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गरिरहेको छ । बरेङले कहिले गर्भवती र सुत्केरीलाई कहिले घ्यूको ठेकी त कहिले भाले बाँड्दै आएको छ ।

 

संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न बरेङले यस्तो कार्यक्रम बनाएको छ । गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा र आयोडिन नुन वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ यो वर्षदेखि सुरु भएको छ ।


 
गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई रातोभाले र घ्यू कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्ष पनि उपहारको कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । गाउँपालिकाले यो कार्यक्रमअन्र्तगत सुत्केरीको घर घरमै पुगेर भाले उपहार दिने गरेको छ ।

 

भाले उपहार पाउन गर्भवती महिलाले चार पटक स्वास्थ्य संस्था पुगेर जाँच गरेको हुनुपर्छ भने स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने व्यवस्था छ । सुत्केरी भएको विवरण स्वास्थ्य संस्थामार्फत गाउँपालिकाको स्वास्थ्य शाखाले संकलन गर्छ । शाखाको विवरणका आधारमा भाले बोकेर उपाध्यक्ष सुत्केरी भेट्न पुग्ने गरेकी छन् ।


‘कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौं’, गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने, ‘सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावास्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।’


 
चालु वर्षको पछिल्लो पाँच महिनामा बरेङमा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ । छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताए । बरेङमा एउटा वयस्क कुखुराको भालेलाई एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म पर्छ । ‘थोरै रकमको भएपनि सरकारले दिन्छ भनेर गर्भवतीहरु खुल्न र दर्ता हुन थालेका छन्’, अध्यक्ष शर्मा भन्छन् ‘जसका कारण हामीले तथ्यांक, योजना बनाउन सजिलो भएको छ भने घरमै हुने सुत्केरीका कारण हुने जोखिम पनि कम भएको छ ।’