close

स्थानीय सरकारले भन्याे : केन्द्र सरकार मुर्दावाद !

स्थानीय सरकारले भन्याे : केन्द्र सरकार मुर्दावाद !

Trulli
ADVERTISEMENT

बैतडी– नेपाली कांग्रेसले सोमबार बैतडीसहित देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । बैतडीमा विरोध प्रदर्शनमा उत्रिएका कांग्रेस नेता, कार्यकर्तामध्ये जनप्रतिनिधि नै बढी थिए ।
   

जिल्ला सदरमुकाममा गरिएको विरोधसभामा दशरथचन्द नगरपालिकाका प्रमुखसमेत रहेका कांग्रेस जिल्ला सभापति नरेन्द्रसिंह थापा अग्रपंक्तिमा देखिए । यसैगरी सुर्नया गाउँपालिका अध्यक्षसमेत रहेका कांग्रेस जिल्ला सचिव वीरबहादुर बिष्ट पनि उतै देखिए ।


पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोली, मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझालगायतका जनप्रतिनिधिहरू सरकारका विरुद्धमा निकालिको जुलुसको अग्रपंक्तिमा देखिए ।
   

अहिले बैतडीका १० स्थानीय तहमध्ये छवटामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नेहरू स्थानीय तहका प्रमुख छन् । उनीहरूमध्ये सबैजसो यस विरोध प्रदर्शनमा संलग्न थिए । सरकारविरुद्ध गरिएको प्रदर्शनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य, वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष र नगरप्रमुखसम्म सहभागी थिए ।
   

विरोधसभामा जिल्लाका सबै क्षेत्रमा नेता, कार्यकर्ता सहभागी भएका नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए । विरोध जुलुस पार्टी कार्यालय गोठलापानीबाट र्‍यालीसहित शाहिलेक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।
    

कांग्रेसले कोभिड– १९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गत १७ मंसिरमा तनहुँमा भएको गिरफ्तारीको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गरेको हो ।


वर्तमान सरकार बनेपछि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित भएको छ ।  
    

वर्तमान सरकार बनेपछि भ्रष्टाचार बढेको पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दको भनाइ थियो । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोरोना नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्यवृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैलीविरुद्ध विरोध प्रदर्शन गरेको उनले बताए ।  


देश कुन अवस्थामा छ भन्नेबारे ध्यान नदिने, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार निर्मूल गर्न नसक्ने र निर्मला हत्यादेखि हालसम्म काण्डैकाण्डमा फसेको सरकारविरुद्ध सडकमै पुगेर प्रदर्शन गर्नुपरेको उनले बताए ।


सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको कांग्रेस बैतडीका पूर्वउपसभापति शिवराज भट्टको आरोप छ । नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकामा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब सरकारविरुद्ध सशक्त ढंगले विरोधमा उत्रिने नेपाली कांग्रेस बैतडीका उपसभापति चन्दले बताए ।