close

सुनकोसीमा अस्थायी बेली ब्रिज, दिप्रुङमा पूर्वाधार विकास 

सुनकोसीमा अस्थायी बेली ब्रिज, दिप्रुङमा पूर्वाधार विकास 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङ्टारमा अस्थायी बेली ब्रिज संचालनमा ल्याइएको छ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने दिक्तेल-गाईघाट सगरमाथा राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका- ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका- ५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङ्टारमा अस्थायी बेली ब्रिज संचालनमा ल्याइएको हो । 


गाईघाट-दिक्तेल सडक आयोजनाको करिब ८४ लाख रुपैयाँमा रेग्मी निर्माण सेवा गाईघाटले गत ५ मंसिरदेखि जडान सुरु गरेको अस्थायी बेली ब्रिज आइतबारदेखि संचालनमा ल्याइएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डीई) गोपाल खकुरेलले बताए । 


हिउँदभर संचालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङ्टारमा करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेली ब्रिज जडान गरिएको हो । गत वैशाखमा निकालिएको बेली ब्रिज जडानको काम शनिबार पूरा भएको हो ।

 

१०१ किलोमिटर लामो गाईघाट-दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेली ब्रिज संचालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने दोस्रो र छोटो बाटो खुलेको छ । अस्थायी बेली ब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पूर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको यातायात व्यवसायीको भनाइ छ । 


यस्तै, पूर्वी शहर जोड्ने बाटोमा राखिएको बेली ब्रिजले सस्तो दरमा उपभोग्य सामान भित्रिने अपेक्षा गरिएको छ । फोक्सिङ्टारमा बेली ब्रिज नहुँदा जिल्लावासी दिक्तेलबाट घुर्मी-कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् । 


फोक्सिङ्टारमा निर्माणाधीन पक्की आर्क डिजाइनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत पाँच वर्षदेखि बेली ब्रिज राख्ने गरिएको छ । फोक्सिङ्टारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भइरहेको अवस्थामा अस्थायी बेली ब्रिज राख्ने गरिएको छ । 


फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल दुई पटक म्याद गुज्रिँदासमेत पूरा हुन सकेको छैन । निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको जिम्मामा रहेको पक्की पुलको काम हालसम्म करिब ५० प्रतिशत मात्र पूरा भएको छ । 


म्याद गुज्रेको वर्षौं बित्दासमेत पक्की पुलको पिलर ठड्याउने कामसमेत पूरा हुन नसकेको अवस्थामा फोक्सिङ्टारमा बेली ब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको वार्षिक करोडौँ रुपैयाँ खर्च भइरहेको छ । फोक्सिङ्टारमा पाँच वर्षअघिदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बाह्रै मास दिक्तेलबाट पूर्वी शहर आउजाउ गर्ने छोटो र स्थायी मार्ग खुल्नेछ ।

 

दिप्रुङले बनाउँदै आफ्नै भवन

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । नौ महिनाभित्रमा पूरा हुने तीन तल्ले पक्की भवनको शिलान्यास आइतबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले गरेका हुन् ।


वर्ष दिनअघि मात्र प्रि-फ्याव भवन बनाएको गाउँपालिकाले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयसँगको सहकार्यमा अर्को प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।

 

गाउँपालिकाको ४० प्रतिशत र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको ६० प्रतिशत गरी तीन करोड ६४ लाख ६१ हजार ८१९ रुपैयाँको लागतमा पूरा गर्ने गरी रविना-अविसा जेभीले भवन निर्माणको काम सुरु गरेको हो । आगामी चैत मसान्तसम्ममा पूरा गर्ने शर्तमा गत २९ असारमा निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 


दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ सछितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा प्रशासनिक भवन निर्माणका लागि लकडाउनकै बीचमा प्रक्रिया थालिएको थियो । दिप्रुङमा सभा हल, कार्यपालिकाको बैठक कक्ष, न्यायिक समितिको इजलास, अध्यक्ष/उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, वडा अध्यक्ष तथा उनका प्रतिनिधि बस्ने कक्ष, क्यान्टिनलगायतका संरचना भएको भवन निर्माण गर्न लागिएको हो ।

 

पक्की भवन निर्माणका लागि ८० लाख रुपैयाँ विनियोजन गरेर डीपीआर तयार पारिसकेको अवस्थामा संघीय सरकारले स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि साझेदारी गर्ने गरी कार्यविधि बनाएपछि साझेदारी गरेरै भवन बनाउन लागिएको अध्यक्ष राईले बताए । 


पक्की प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले गत ९ जेठमा टेन्डर खुलाएको थियो । भवनको भुइँ तल्ला अपांगतामैत्री हुनेछ भने माथिल्लो तल्ला उक्लिनका लागि लिफ्टसमेत राखिने गाउँपालिकाले जनाएको छ । भवनको अगाडि सेवाग्राही बस्ने फ्रि-वाईफाईसहितको प्रतीक्षालय निर्माण गर्ने डीपीआरमा उल्लेख छ ।