close

कमला नगरपालिकाका जनप्रतिनिधिबीच झडप, वडाध्यक्षहरु भन्छन्ः भ्रष्टाचार भो (भिडियो खबर)  

कमला नगरपालिकाका जनप्रतिनिधिबीच झडप, वडाध्यक्षहरु भन्छन्ः भ्रष्टाचार भो (भिडियो खबर)  

ADVERTISEMENT

धनुषा- धनुषाका कमला नगरपालिकामा नगरप्रमुखको सक्रियतामा अनियमितता भएको भन्दै सुरु भएको धर्नामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताबीच झडप भएको छ । 


जसपा पक्षधर नेता कार्यकर्ताहरुले पालिकामा अनियमिता र भ्रष्टाचार भएको भन्दै दिएको धर्नामा दुई पक्षवीच झडप भएको हो ।  दुई दल समर्थित जनप्रतिनिधि र कार्यकर्ताबीच तनाव भएपछि पालिकामा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 


पालिकामा जसपा पक्षधर वडा अध्यक्ष, सदस्य र नेता कार्यकर्ताहरु सोमवार सम्पन्न नगर परिषदको विरोध गर्दै धर्नामा बसेका छन् । आर्थिक वर्ष २०७४/०७५ को आम्दनी खर्चको सम्पूर्ण हरहिसाब पारदर्शी गर्नुपर्ने, कोरोना रोकथाम र नियन्त्रणमा नगरले  गरेको खर्च पारदर्शी हुनुपर्ने, सामाजिक सुरक्षा भत्रामा भएको अनियमिततामाथि छानविन हुनुपर्नेलगायतका माग जसपाका जनप्रतिनिधि र कार्यकर्ताले गरेका छन् । 


पालिका प्रमुखविरुद्ध जारी आन्दोलनमा विवाद भएपछि झडप भएको हो । धर्नामा बडा नम्बर  १, २, ३ र ८ का वडाअध्यक्षहरु समेत सहभागी छन् ।  


विरोधकाबीच नगर परिषद 

 

जनता समाजवादी पार्टीबाट निर्वाचित जन प्रतिनिधिको विरोधकाबीच सोमवार कमला नगरपालिकाको नगर परिषद सम्पन्न भएको छ । विभिन्न समयमा भएको खर्चको हिसाब माग्दै जसपा समर्थित नेता कार्यकर्ताले विरोध जनाइरहेका छन् । 

 

आर्थिक वर्ष २०७७/०७८ लागि पालिकाले झन्डै ६२ करोड रुपैया बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख राम उद्गार गोइतको अध्यक्षतामा भएको परिषदमा यस आर्थिक वर्षको बजेट पेश भएको हो ।