close

सिटी स्क्यान मेसिन किन्न महानगरले दियो ७ करोड ५० लाख

सिटी स्क्यान मेसिन किन्न महानगरले दियो ७ करोड ५० लाख

Trulli
ADVERTISEMENT


काठमाडौं– काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई अत्याधुनिक सिटी क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने भएको छ । मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


स्पेसिफिकेसनबमोजिम सात करोड ५० लाख रुपैयाँ बराबरको १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब खरिद गरिने मेसिनबाट उच्च गुणस्तरीय र परिस्कृत रिपोर्ट प्राप्त भई सर्वसुलभ सेवा दिन सकिनेछ ।


स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको महानगरप्रमुख शाक्यले बताए ।


कार्यक्रममा शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरहरूले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्री यसअघि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई हस्तान्तरण गरिसकेको जानकारी गराए ।


‘कोरोनाको परीक्षणका लागि ती अस्पताललाई पीसीआर मेसिन, शहीद गंगालाल अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, कान्ति बाल अस्पतालसँग पनि हामीले सेवा विस्तारका लागि विभिन्न सहकार्य गरेका छौँ । हामीले जनस्तरबाट संचालन गरिएका अस्पतालसँग पनि सहकार्य गर्दै आएका छौँ ।’


उनले काठमाडौंको ‘कोर–सिटी’मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ अनुदान दिएको र नयाँ भवन निर्माणका लागि पाँच करोड रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिए ।


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. दिव्या सिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभई नहुने हतियार भएको भन्दै काठमाडौं महानगरले गरेको सहयोग अतुलनीय भएको बताइन् ।

 
कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले आकस्मिक सेवा कक्षको सिटी स्क्यान मेसिन एक वर्षअघिदेखि कम नलाग्ने गरी बिग्रिएका कारण सेवामा असहजता भइरहेको स्मरण गराए ।


‘हाल केही समयदेखि अस्पतालमा सेवा लिन आउने ननकोभिड बिरामीको संख्यामा समेत कमी भई आमदानीको स्रोत घट्दै गएकाले आफ्नै स्रोतबाट नयाँ सिटी स्क्यान मेसिन खरिद गरी संचालनमा ल्याउन कठिनाइ भइरहेको अवस्थामा बिरामीलाई छिटोछरितो सेवा प्रवाहका लागि महानगरपालिकाले गरेको सहयोग उल्लेख्य छ’, उनले भने, ‘यो खुसीको दिन हो । अझ खरिद प्रक्रिया सम्पन्न गरी जडान गरी सेवा सुरु गरेका दिनको खुसीको प्रतीक्षामा छौँ ।’