close

विकट बस्ती जोड्ने सेतु बने झोलुंगे पुल

विकट बस्ती जोड्ने सेतु बने झोलुंगे पुल

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको भौगोलिक रूपमा विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकामा ५ वटा झोलुंगे पुल निर्माण गरिएको छ । झोलुंगे पुल क्षेत्रगत कार्यक्रम (टीबीएसयू) र गाउँपालिकाको सहयोगमा स्थानीयले श्रमदानमार्फत पुल बनाएका हुन् ।

 

गाउँपालिका अध्यक्ष थमसरा पुन ती पुलबाट २ हजार बढी घरधुरी लाभान्वित भएको बताउँछिन् । ‘अग्ला पहाड र खोँचले छुट्टिएका गाउँबस्तीलाई पुलले जोडेको छ’, उनले भनिन्, ‘झोलुंगे पुल बनेपछि विद्यार्थीलाई स्कुल पढ्न जान, काम विशेषले वल्लोबाट पल्लो गाउँ जान घन्टौँ घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । बाटो छोटिएको छ । डर–त्रास हटेको छ । बालबालिका सुरक्षित रूपमा स्कुल जान र घर आउन पाएका छन् ।’

 

खोरियाको कास्काम खोलामा ३७ लाखमा ५० मिटर, गुर्जाको दोप्ताखोलामा ४७ लाख ६८ हजारको लागतमा ६७ मिटर र मुदीको देमुघाटमा ३४ लाख ३७ हजार रुपैयाँमा ७२ मिटर लामो पुल निर्माण भएको हो ।


यस्तै, मल्कवाङको खालीखोलामा २८ लाख ७७ हजार लागतमा ६० मिटर र सिम्कोसको जुरकुसखोलामा ३६ लाख ७४ हजार रुपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल बनेको गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीले बताए ।

 

आर्थिक वर्ष २०७६÷०७७ मा सुरु भएका झोलुंगे पुल कोरोनाको जोखिम, लकडाउन र पहिरोका कारण प्रभावित भएका थिए । ‘पुल नहुँदा बाढी आउँदा बर्खाको समय आउजाउ नै बन्द हुने र जंगलमा चरनका लागि गएका गाईबस्तु बाढीले बगाउने समस्या थियो’, धवलागिरि गाउँपालिका– २ खोरियाका रामबहादुर पुर्जाले भने, ‘कृषकहरूले सजिलै खेतबारीको काम, जंगलमा घाँस–दाउरा गर्न पाएका छन् ।’

 

म्याग्दीमा आर्थिक वर्ष २०७४/०७५ मा ११ र २०७५/०७६ मा १६ वटा झोलुंगे पुल निर्माण भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएका १८ वटा झोलुंगे पुल कोरोनाको जोखिम, लकडाउन र पहिरोका कारण प्रभावित भएका थिए ।

 

५ वटा झोलुंगे पुल निर्माण भएर समुदायलाई हस्तान्तरण भइसकेको छ । १३ वटा निर्माणको अन्तिम चरणमा रहेको झोलुंगे पुल क्षेत्रगत कार्यक्रम टीबीएसयूका प्राविधिक अधिकृत अनिल तामाङले बताए ।

 

उपभोक्ता समितिमार्फत झोलुंगे पुल निर्माण गर्न टीबीएसयूले लट्ठा, बुल्डअप ग्रिपलगायत निर्माण सामग्री उपलब्ध गराउँछ । सडक सुविधा नभएका र दुर्गम बस्तीहरूमा आउजाउ र ढुवानीका लागि झोलुंगे पुल प्रभावकारी भएका छन् ।

 

रघुगंगा गाउँपालिकाको बेग–बादुक, बेनी नगरपालिकाको फापरखेत र बाग्लुङको मालिकालगायत ठाउँमा बनेका लामो पुलले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ ।