close

गाउँपालिकाको रोजगार नीतिः पहिला गाउँले त्यसपछि छिमेकी

गाउँपालिकाको रोजगार नीतिः पहिला गाउँले त्यसपछि छिमेकी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँलेलाई रोजगारीको पहिलो प्राथमिकता दिइने नीति सार्वजनिक गरेको छ ।

 

गाउँपालिकामा आवश्यक जनशक्ति व्यवस्थापन गर्दा समावेशी सिद्धान्तका आधारमा पालिकाभित्रकै स्थानीयलाई स्थान दिइने पालिका अध्यक्ष राजनकुमार थत्लुङले जानकारी दिए ।

 

मागिएको जनशक्ति पालिकाभित्र नभएको अवस्थामा मात्र अन्य क्षेत्रकालाई प्राथमिकता दिने नीति गाउँपालिकाले बनाएको हो । ‘मागिएको दरबन्दीका लागि पालिकाभित्रबाट व्यवस्थापन हुन नसक्ने अवस्थामा भने अन्य क्षेत्रकालाई अवसर दिइनेछ’, गाउँपालिका अध्यक्ष थत्लुङले भने ।

 

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममै रोजगारीका लागि अवसर आए गाउँलेलाई नै प्राथमिकता दिने बताएको थियो । नीति तथा कार्यक्रमअनुसारै यस्तो प्रक्रिया कार्यान्वयनमा लैजान थालेको अध्यक्ष थत्लुङले बताए ।

 

गाउँपालिकाले दरबन्दीअनुसार पदको कार्यबोझ, कार्यपद्धति र कर्मचारीको आवश्यकतालगायत विषय अध्ययन गरी दरबन्दीमा हेरफेर तथा कटौती गर्दै लैजाने अवधारणासमेत अघि सारेको छ ।

 

मानव संसाधनको व्यवस्थापन गर्दा पालिकाको खर्च मितव्ययी प्रक्रिया अवलम्बन गरिने गाउँपालिकाका प्रवक्ता तथा मैवाखोला गाउँपालिका वडा– ३ का वडाध्यक्ष थर्ककुमार चोङ्वाङले जानकारी दिए ।

 

संघीय तथा प्रादेशिक सरकारको अनुदानमा प्राप्त योजना, परियोजना तथा जिल्ला समन्वय समितिबाट समायोजन भई आउने कर्मचारीको यथोचित प्रयोग गर्ने, कायम जनशक्तिको सीप र क्षमतावृत्तिमा सघाउ पु¥याउने गाउँपालिकाको योजना रहेको उनले सुनाए ।

 

गाउँपालिकाले मानव संसाधन व्यवस्थापनका लागि पदपूर्ति समायोजन, दरबन्दी सिर्जना, सरुवा, बढुवा तथा वृत्ति विकासका लागि संघीय तथा प्रादेशिक सरकारसँग आवश्यक समन्वय, परामर्श र साझेदारी गर्ने नीतिसमेत लिएको जनाएको छ ।