close

राखेपद्वारा कीर्तिपुर कभर्ड हल हस्तान्तरण

राखेपद्वारा कीर्तिपुर कभर्ड हल हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्ले कीर्तिपुर नगरपालिकालाई  कभर्ड हल कीर्तिपुर हस्तान्तरण गरेको छ । बुधबार एक समारोहका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कीर्तिपुरका नगरप्रमुख रमेश महर्जनलाई कभर्ड हल हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा राखेपका सदस्य सचिव सिलवालले नेपाल सरकारको प्रत्येक स्थानीय तहमा एकएकवटा कभर्ड हल बनाउने नीतिअनुरूप कभर्ड हल बनाई हस्तान्तरण गरेको बताए । नेपालका सबै ठाउँमा खेलकुदको विकास गर्नुपर्नेमा सिलवालको जोड थियो ।


विकट मानिएका मुगु जिल्लामा समेत महिलाहरूले फुटबल खेललाई विकास गरेको उल्लेख गर्दै उनले बार्सिलोनाले समेत बोलाएर खेलाएको बताए । कोभिडका कारण शिथिल भएको  खेलकुदलाई अब विस्तारै सामान्ययीकरण गर्दै जानुपर्ने उनको भनाइ थियो ।


कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर कभर्ड हल यस नगरपालिकाले पाएकामा खुसी व्यक्त गर्दै नगरपालिकाका लागि यो उपहार भएको बताए ।


कोभिडका कारण स्थगित भएको खेलकुद अब भने सुचारु हुने भएको छ । सो कभर्ड हलमा मुख्य खेलहरू फुटबल, भलिबल, ब्याडमिण्टन, टेबलटेनिस, चेस र बास्केटबल गरी छवटा खेलहरूको प्रशिक्षण गत १३ मंसिरदेखि भइरहेका छन् ।


कीर्तिपुर नगरपालिकाले पनि प्रत्येक वडामा एक खेल मैदानको अवधारणाअन्तर्गत कामहरू गरिरहेको छ । यद्यपि, राष्ट्रिय स्तरका खेलाडीहरू यस नगरपालिकामा विद्यमान रहेको उनले बताए  । गत वर्ष भएको दक्षिण एसियाली खेलकुदमा यस कीर्तिपुर कभर्ड हलमा फेन्सिङ र खो-खो गरी दुईवटा खेलहरू भएका थिए ।