close

सबैला नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला

सबैला नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला

Trulli
ADVERTISEMENT

धनुषा– सामाजिक सुरक्षा भत्ता र कर्मचारीको बाँकी रहेको तलब उपलब्ध गराउन माग गर्दै धनुषाको सबैला नगरपालिकामा कर्मचारी तथा जनप्रतिनिधिले तालाबन्दी गरेका छन् ।


२ दिनअघि लगाइएको ताला खुल्न नसक्दा नगरपालिकाको प्रशासनिक कामकाज ठप्प भएको छ । कार्यालयमै ताला लागेपछि काम लिएर आउने सेवाग्रही रित्तो फर्किने गरेका छन् ।


नगरपालिकाले केही वडाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छैन भने करारमा कार्यरत कर्मचारीको झन्डै १ वर्षदेखिको तलब बाँकी रहेपछि जनप्रतिनिधिको सहयोगमा पीडित कर्मचारीले कार्यालयमा ताला लगाइदिएका हुन् ।


नगरपालिकाका कार्यपालिका सदस्य राजु गुप्ता भन्छन्, ‘नगरप्रमुखको लापरबाहीकै कारण ज्येष्ठ नागरिक, अपांगता भएका तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।’


सबैलाका नगरप्रमुख विजयशंकर साहले सामाजिक सुरक्षा भत्ता र करारमा कार्यरत कर्मचारीको बाँकी रहेको रकम भुक्तानी प्रक्रिया छिट्टै सुरु हुने दाबी गरे ।


‘बजेट शीर्षकमा गल्ती भएका कारण कर्मचारीहरूको तलब उपलब्ध गराउन नसकिएको हो । वडा सचिवहरूले विगतको भर्पाइ समयमै नबुझाउँदा सामाजिक सुरक्षा भत्ताको रकम निकासा हुन समस्या भएको हो । यसलाई छिट्टै समाधान गर्दै छौँ’, नगरप्रमुख साहले भने ।