close

निराशाजनक समाचार मात्र नलेख्न मन्त्री ढुंगेलको आग्रह

निराशाजनक समाचार मात्र नलेख्न मन्त्री ढुंगेलको आग्रह

Trulli
ADVERTISEMENT

रामेछाप- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विकास निर्माणसम्बन्धी समाचार पनि सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।


‘पूर्वाधारहरूको विकास गाउँगाउँमा भएको छ । बिजुली, सडक सबै टोलमा पुगेका छन् । स्कुलका भवन बनेका छन् । पत्रकारहरूले खोइ लेखेको ?’, मन्त्री ढुंगेलले भने ।


रामेछापको लिखुतामाकोसी गाउँपालिका- ६ खिम्तीमा रहेको श्री तामाकोसी जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले भने, ‘यही खिम्तीमा पनि हरेक टोलटोलमा कच्ची भए पनि बाटो पुगेको छ । केही बाटो पिच हुने अवस्थामा छन् । भर्खर प्रदेश सरकारले स्कुललाई बस उपलब्ध गराएको छ ।’


अब यस स्कुलका विद्यार्थीहरूले पैदल हिँड्नु नपर्ने र उनीहरूलाई धेरै सहज हुने उनको भनाइ थियो । कृषिमा पनि विभिन्न विषयमा अनुदान भएको र खिम्तीका किसानले पनि पाएको भन्दै मन्त्री ढुंगेलले प्रश्न गरे, ‘खोइ यी विषयमा समाचार लेखेको ?’


विरोध र निराशाजनक समाचारमा मात्र ध्यान केन्द्रित नगर्न मन्त्री ढुंगेलले पत्रकारहरूलाई अनुरोध पनि गरे । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष दीपशिखा दाहालले जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्ने यस विद्यालयलाई अझ उत्कृष्ट बनाउन थप स्रोत र साधन उपब्ध गराउन लागिपर्ने बताइन् ।