close

सिरिजंघाको शिक्षाः १२ कक्षासम्म निःशुल्क

सिरिजंघाको शिक्षाः १२ कक्षासम्म निःशुल्क

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आधारभूत तहदेखि उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका विद्यार्थीलाई तहगत रूपमा शैक्षिक खर्च उपलब्ध गराउने भएको छ ।

 

‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रममार्फत पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीको मासिक शुल्क, भर्ना शुल्क र परीक्षा तथा रजिस्ट्रेसन शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार गाउँपालिकाले पालिकाभित्रका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीलाई वार्षिक ६ हजार ३ सय रुपैयाँका दरले शैक्षिक खर्च उपलब्ध गराउनेछ ।


गाउँपालिकाले मासिक शुल्कबापत जनही ४ सय र भर्ना शुल्क, परीक्षा र रजिस्ट्रेसन शुल्कबापत जनही १ हजार ५ सय रुपैयाँका दरले विद्यार्थीको पढाइ खर्च तिरिदिनेछ ।


‘विद्यालयबाट प्राप्त शैक्षिक खर्च विवरणका आधारमा गाउँपालिकाले कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीका लागि यो रकम खर्च गर्ने तयारी गरेको हो’, उनले भने ।

 

यस्तै, गाउँपालिकाले पालिकाभरिका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई पोसाक र स्कुल ब्याग निःशुल्क वितरण गर्न प्रतिविद्यार्थी २ हजार रुपैयाँका दरले सम्बन्धित सामुदायिक विद्यालयमा सोझै रकम निकासा गर्नेछ ।

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने सबै विद्यार्थीलाई आफू पढेकै विद्यालयबाट निःशुल्क कोचिङ कक्षा लिने व्यवस्थाका लागिसमेत सिरिजंघाले रकम विनियोजन गरेको छ ।

 

एसईई परीक्षा दिने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा पढाउन गाउँपालिकाले प्रतिकोचिङ कक्षा ४ सय रुपैयाँका दरले सम्बन्धित विद्यालयमार्फत कोचिङ कक्षा पढाउने शिक्षकलाई रकम उपलब्ध गराउने भएको छ ।

 

यसअघि पालिकाका ८ वटै वडाबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रत्येक वडाका १–१ जनालाई ३ वर्षे पढाइको कृषि विज्ञान र पशु विज्ञान अध्ययन गर्न लाग्ने सम्पूर्ण तथा आवास, पोसाक र खानाबापतको खर्चसमेत गाउँपालिकाले उपलब्ध गराउने गरी कबुलियतनामासमेत गरिसकेको छ ।