close

तलबभत्ताको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति 

तलबभत्ताको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति 

Trulli
ADVERTISEMENT

रुपन्देही- जनप्रतिनिधिहरूले जनविश्वास गुमाउँदै गएका बेला कुनै नगरपालिका प्रतिनिधिले भने जनताप्रति विश्वास जगाउँदै गएका छन् । निर्वाचनका बेला बोलेका वाचा पूरा गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे सच्चा जनप्रतिनिधिका उदाहरणीय पात्र बनेका छन् । 

 

उनले आफूले पाउने सम्पूर्ण सुविधा नगरबासीका छोराछोरीको शिक्षा आर्जनमा खर्चिएका छन् । नगरपालिका प्रमुख घिमिरेले आफ्नो सेवा-सुविधाबापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

 

नगरप्रमुख घिमिरेले यसअघि नै घोषणा गरेअनुसार चालू शैक्षिक सत्रका लागि ४३ सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे ।

 

आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको घिमिरेले सुनाए ।

 

नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरमा रहेका सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरे । 

 

नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनोट तथा व्यवस्थापन समिति गठन गरेको छ । ‘सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन्’, घिमिरेले भने ।

 

छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले बताइन् । यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार रुपैयाँ कोषमा जम्मा गरिएको छ ।
 

‘सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका १÷१ जना जना विद्यार्थीलाई छात्रवृत्तिको रूपमा उपलब्ध गराएको हुँ’, घिमिरले भने । 

 

जनप्रतिनिधिको तलबलाई अदालतले अवैध ठहर गरेपछि रोकिएको तलब उनले कोषमा जम्मा गरिदिएका छन् ।

 

कार्यक्रममा उप-प्रमुख जगेश्वरदेवी चौधरी, शान्ति माविका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, छात्रवृत्ति व्यवस्थापन समिति सदस्य टंक पौडेललगायतले पारिश्रमिकको रकम छात्रवृत्ति तथा विभिन्न सामाजिक कार्यमा लगाएका घिमिरे वास्तविक जनप्रतिनिधि भएको दाबी गरे ।