close

जनकपुर उपमहानगरको निर्देशन : फुटपाथ खाली गर्नू 

जनकपुर उपमहानगरको निर्देशन : फुटपाथ खाली गर्नू 

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुर उपमहानगरले प्रमुख चोक र मुख्य सडक क्षेत्रको फुटपाथ कब्जा गरेर बसेका खुद्रा व्यापारीलाई ६ पुसभित्र खाली गर्न निर्देशन दिएको छ । तोकिएको मितिभित्र सडक फुटपाथ खाली नगरे कारबाही गरिने चेतावनी उपमहानगरले दिएको छ ।

 

यसअघि पालिका खबरले जनकपुर उपमहानगरका सडक फुटपाथ व्यापारीको कब्जामा रिपोर्ट प्रसारण÷प्रकाशित गरेपछि चौतर्फी आलोचना खेपेको उपमहानगरले सडक पेटी र फुटपाथ खाली गर्न माइकिङसहित अभियान सुरु गरेको हो । जनकपुरधाम उपमहानगरले मंगलबार नै बैठक डाकेर कार्यपालिका सदस्य श्याम साहको संयोजकत्वमा समिति नै गठन गरेको छ । 

 

खुद्रा व्यवसायीलाई विवाहपञ्चमीपछि फुटपाथ खाली गर्न निर्देशन दिँदै उपमहानगरका कर्मचारीले बुधबार जनकपुरको जानकी चोक, राम चोक, विवाहमण्डपलगायत स्थानमा फुटपाथ व्यापारीलाई सूचनासहितको निर्देशन दिन थालेका छन् ।

 

‘हामीले तत्काल फुटपाथ कब्जा गरेर बसेका खुद्रा व्यापारीलाई सम्झाउँछौँ र तोकिएको समयभित्र फुटपाथ खाली गर्न निर्देशन दिएका छौँ । खाली नगरे कारवाही प्रक्रिया अगाडि बढाउने गरी एक्सनमा जान्छौँ’, कार्यपालिका सदस्य श्याम साहले भने । फुटपाथ जे प्रयोजनका लागि बनेको हो, त्यसको हकाधिकार पैदल यात्री भएकाले अरूलाई प्रयोग गर्न नदिइने साहले दाबी गरे । 


अहिले जनकपुरमा खुद्रा तथा साना व्यापारी मात्र होइन, बजार क्षेत्रमा ठूल्ठूला व्यवसायीसमेतले फुटपाथलाई सामग्री राख्ने थलो बनाउँदै आएका छन् । फुटपाथ साना व्यापारीले कब्जा गरेपछि स्थानीय बाध्य भएर सडक बीचबाटै हिँड्न बाध्य छन् । 

 

साना खुद्रा व्यापारीलाई फुटपाथबाट हटाउने निर्णयको विरोध गर्दै धनुषा चेम्बर अफ कमर्सले विकल्प दिनुपर्ने माग गरेको छ । 

 

धनुषा चेम्बरका कोषाध्यक्ष उज्ज्वल अग्रवालले भने, ‘उपमहानगर स्थानीय सरकारसमेत भएकाले व्यापारीलाई लखेट्ने कुरा सान्दर्भिक हुँदैन । खाली स्थानमा ती व्यापारीलाई व्यवस्थित गर्नुपर्छ ।’