close

पेन्सन र अवकास सुविधा लिएकालाई सामाजिक सुरक्षा भत्ता नदिन गृहको निर्देशन

पेन्सन र अवकास सुविधा लिएकालाई सामाजिक सुरक्षा भत्ता नदिन गृहको निर्देशन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– निवृत्तिभरण, अवकास सुविधा वा अन्य सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउन गृह मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।


गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पत्र लेख्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीको विवरण रुजु गरी दोहोरो सुविधा लिएको भए कानुनी दायरामा ल्याउन परिपत्र गरेको हो ।


शाखा अधिकृत कुलशेखर अर्यालद्वारा जारी सूचनामा सामाजिक सुरक्षा ऐन, २०७५ (प्रथम संशोधन, २०७७)को दफा १५ मा भएको कानुनी व्यवस्थाका बारेमा स्थानीय तहको ध्यानाकर्षण गरिएको छ । सो कानुनी व्यवस्थाअनुसार कुनै सरकारी वा सार्वजनिक नियुक्ति, निर्वाचित वा मनोनीत भई वहाल रहेको व्यक्तिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्थाबाट नियमित रूपले पारिश्रमिक, निवृत्तिभरण, अवकास सुविधा वा अन्य सुविधा पाइरहेका छन् भने उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् ।


मन्त्रालयले कतिपय स्थानीय तहहरूले दोहोरो सुविधा वितरण गरिरहेको जानकारीमा आएकाले अब उप्रान्त यस्तो प्रवृत्ति पूर्ण रूपमा अन्त्य गर्न स्थानीय तहहरूलाई परिपत्र गर्दै सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण लाभग्राहीको विवरण रुजु गर्न भनेको छ ।


परिपत्रमा दोहोरो सुविधा लिएको भए कानुनी दायरामा ल्याई दोहोरो सुविधा निरुत्साहन गरी कानुनको पूर्ण पालना गर्न÷गराउन पनि मन्त्रालयले स्थानीय तहहरूलाई आग्रह गरेको छ ।