close

५ वर्षसम्म पनि कालोपत्रे भएन महुरे-फोक्सिङटार सडक 

सम्पर्कमै छैनन् निर्माण व्यवसायी 

५ वर्षसम्म पनि कालोपत्रे भएन महुरे-फोक्सिङटार सडक 

सम्पर्कमै छैनन् निर्माण व्यवसायी 

Trulli
ADVERTISEMENT

(पूर्वाधारमा झेल पालिकाखबरको नियमित स्तम्भ हो । यसमा स्थानीय तहमा पूर्वाधार विकासमा देखिएका विकृतिलाई हामी निरन्तर रुपमा प्रस्तुत गर्नेछौं । पूर्वाधार विकासका वाधक, समस्या, योजना असफल हुनुमा र ढीलाइ हुनुमा जिम्मेवार को ? आयोजना सम्पन्न गर्न के गर्नुपर्छलगायतका विषयमा हामी यो स्तम्भमार्फत नियमित खबरदारी गर्नेछौं ।) 

 

खोटाङ- खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रेको ठेक्का लिएका ठेकेदारको लापरबाहीका कारण ५ वर्षदेखि काम  अघि बढ्न सकेको छैन । गाईघाट-दिक्तेल सडकअन्तर्गत महुरे-फोक्सिङटार ४९ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएका भारत कन्स्ट्रक्सन, सिद्धि शाही जेभी र देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीको म्याद सकिँदासम्म कामै सुरु नगरेका हुन् ।

 

महुरे-फोक्सिङटार खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी २२ किलोमिटर सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन, सिद्धि शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार २७ किलोमिटर खण्डको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले गरिरहेका छन् । सम्झौता म्याद गुज्रिँदासमेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लाबासी चिन्तित छन् । 

 

भारत कन्स्ट्रक्सन, सिद्धी शाही जेभीले २९ असार २०७७ मा सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे-राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

 

४१ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डीई) गोपाल खकुरेलले बताए ।

 

यस्तै, देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानीभञ्ज्याङ-फोक्सिङटार सडक खण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको छ ।५५ करोड ८७ लाख रुपैयाँमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । 

 

‘दसैँ-तिहारसम्म धेरथोर काम भएको देखिए पनि त्यसपछि हुनै छाडेको छ,’ डीई खकुरेलले भने, ‘ढिलासुस्ती गर्ने ठेकेदारसँग सम्झौता तोड्ने वा अन्य कारबाही गर्ने भन्ने विषयमा तालुक अड्डासँग कुरा भइरहेको छ ।’ 


दिक्तेल र गाईघाटलाई जोड्ने छोटो मार्गका रूपमा रहेको सडक खण्ड कालोपत्रेको काम दसैँ-तिहारयता ठप्प छ । काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक-पटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । 

 

प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन हुने गरेका छन् । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र राजनीतिक दलका नेतासमेत चुप बस्ने गरेको स्थानीयको गुनासो छ । 

 

महुरे-राजापानी सिमपानी सडक खण्डमा गत २९ कात्तिकसम्म काम गर्दा ५५ प्रतिशत भौतिक प्रगति भएको भारत कन्स्ट्रक्सन, सिद्धि शाही जेभीका साइड इन्चार्ज नवीन मैनालीले दाबी गरे ।

 

‘२९ कात्तिकसम्म हामीले काम गर्‍यौँ । तिहारपछि काम भएको छैन,’ मैनालीले भने, ‘१-२ सातापछि काम सुरु हुन्छ । साइडमा रहेका इन्जिनियरलाई काम सुरु गर्न भनिसकेका छौँ ।’ कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोका कारण यात्रा गर्नै सकस भइरहेको बुइपाका स्थानीय मिलन राई बताउँछन् । 

 

गुणस्तरमाथि स्थानीयको शंका 

 

महुरे-फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे-सिमपानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २३ पुस २०७६ मा करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए ।


सडकको काममा ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन रहेको र कार्यरत कामदारले वर्षौंसम्म पारिश्रमिक नपाएको विरोधमा स्थानीयले २० पुस २०७६ देखि १ महिना र सोही वर्षको ८ देखि १० फागुनसम्म सडकको काम ठप्प पारेका थिए । 


हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीको माटोखानी (साविकको राजापानी- २) मा सब-बेस ओछ्याउन पाखाबाट ल्याइएको गिटी तथा बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले गत भदौमा आवाज उठाएका थिए । 

 

ड्रेन निर्माणका क्रममा पाखोबाट उठाएर ल्याइएको सव-बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत १२ भदौमा रोक लगाएका थिए । सडकको गुणस्तरबारे जनताले पटक-पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख विमला राई सुनाउँछिन् ।