close

२ लाख नागरिक कजवेको जोखिमबाट मुक्त

तामनगर—सेमलार जोड्ने पक्की पुल बनेपछि राहत

२ लाख नागरिक कजवेको जोखिमबाट मुक्त

तामनगर—सेमलार जोड्ने पक्की पुल बनेपछि राहत

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगरपालिकाका वडा नं. १२ र १४ जोड्ने तामनगर–सेमलार जोड्ने दानव नदीमा बन्न लागेको पक्की पुलको निर्माण कार्य विभिन्न अवरोधका बीच पनि तीब्र बनेको छ ।


विगतमा कजवेको भरमा चलेको पुल अब भने पक्की बन्ने भएको हो । विगतमा केही स्थानीय स्तरमा उत्पन्न समस्याका कारण ढिलाइ भएकोे पुल अहिले निर्माण कार्यले गति लिएपछि स्थानीय खुसी भएका छन् । जताततै विकास निर्माणका काममा ढिलाइ भएको तथा ठेकेदार र कर्मचारीले लापरवाही गरेको समाचार आइरहेका बेला निर्धारित समयमै सक्ने लक्ष्यका साथ कार्य प्रगति भइरहेकामा स्थानीयले प्रशंसा गरेका छन् ।


कुल १७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको १२० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल निर्माणका लागि अर्घाखाँची बाबुल निर्माण कम्पनीले २०७४ असारमा ठेक्का सम्झौता गरेको थियो ।


सम्झौताबमोजिम आगामी २०७७ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने यस पुलको ८० प्रतिशत भौतिक प्रगति रहेको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । कोरोना कहर र लकडाउनकै बीच पनि योजनाले राम्रो गति लिएको र निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको पनि कुँवरले बताए ।


निर्माणको सुरुवातमा डाइभर्सन, रिभर ग्यावियन लगाउनेलगायतको व्यवस्थापन र नदी नियन्त्रणसम्बन्धी काममा ढिलाइ हुँदा पुल निर्माणको काम समयै सम्पन्न हुनेमा शंका उत्पन्न भएको थियो ।


भएको कजवे भत्काएर नयाँ पुल निर्माण गर्ने योजना आएको तर कामले गति नलिएको भन्दै स्थानीयले पटकपटक ताकेता र गुनासो गर्दै आएका थिए । अहिले समयमै कामले गति लिएकामा स्थानीय प्रेमप्रसाद पौडेलले खुसी व्यक्त गरे ।


पौडेलका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर र वडा नं. १४ सेमलारको बीचमा पक्की पुल निर्माण हुन लागेको थाहा पाउँदा हामी निकै हर्षित भएका थियौँ । साविकको बुटवल नगरपालिका र सेमलार गाविसबीचको ठूलो भूभागको महत्त्वपुर्ण सम्पर्क माध्यमका रूपमा रहेको सो पुल समयमै निर्माण हुने संभावना बढ्दै गएको छ ।


यसले साविकको सेमलार, फर्साटिकर, मानपकडी, मानमटेरिया, अमुवा र दयानगर छपियाका जनतालाई सिधै पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने र प्रदेशको अस्थायी राजधानी बुटवलसँग सिधा र सहज सम्पर्क कायम गर्ने पौडेलको भनाइ छ ।


आर्थिक वर्ष २०७३/०७४ मा टेण्डर भई २०७४/०७५ मा निर्माण सुरु भएको सो पुलको हाल पाँचवटा पिलर र तीनवटा स्पान निर्माणको काम सम्पन्न भइसकेको छ । अब एक स्पानको निर्माणको काम मात्र बाँकी रहेको जानकारी दिँदै सडक डिभिजनका सूचना अधिकारीसमेत रहेका कुँवरले निर्धारित समयमै पुल निर्माणको कार्य सम्पन्न भई सुचारु हुने बताए ।


विगतमा उक्त स्थानमा कजवेको व्यवस्था गरिएको भए पनि वर्षा याममा बाढी आउँदा आवागमन अवरुद्ध हुने गथ्र्यो, वर्षामा बाढीका कारण धेरै धनजनको क्षति हुने गरेकाले पुरानो कजवे भत्काई नयाँ पक्की पुल निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।


लामो समयदेखि कजवेको भरमा जोखिमपूर्ण आवतजावत गर्दै आएका सो क्षेत्रका ४० हजार घरधुरीका झण्डै दुई लाख जनताले सहज आवतजावतको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको स्थानीय व्यवसायी वेदनिधि रिजालले बताए । रिजाल भन्छन्, ‘यो पुलको निर्माणले यस क्षेत्रका लाखौँ जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।’


यहाँका कृषि उत्पादन बजारसम्म पुर्‍याउन र बजारबाट आवश्यक सामग्री गाउँसम्म पु¥याउन यो पुल जीवनमार्ग नै बन्नेछ । पुल निर्माणपछि यहाँको शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा पनि उल्लेखनीय विकास हुने अपेक्षा गरिएको छ ।


बुटवल उपमहानगरपालिका वडा नं.– १२ का वडा अध्यक्ष दुर्गा सुवेदीले संघीय सरकारको बजेट भए पनि पुलको निगरानी गरिरहेको बताए । ‘हाम्रो वडामा यो पुल बन्दै छ । यस क्षेत्रमा पुल नभएका कारण समस्या भएको थियो । अब सहज अवतजावत हुनेछ’, सुवेदीले भने ।