close

बुटवलको सेरोफेरो नियाल्न जीपलाइन

बुटवलको सेरोफेरो नियाल्न जीपलाइन

Trulli
ADVERTISEMENT

रुपन्देही– रुपन्देहीको बुटवलस्थित हिलपार्कमा पहिलो पटक साहसिक खेल जीप लाइन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी जीप लाइन खेल सञ्चालनमा ल्याइएको हो ।

 

४ युवाको संयुक्त लगानीमा सञ्चालनमा आएको जीप खेल लुम्बिनी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले उद्घाटन गरे ।
गिरीले जीप खेलले यस क्षेत्रको पर्यटन फस्टाउन सहयोग पुग्ने अपेक्षा गरे । उनले भने, ‘रुपन्देहीको पर्यटनका निम्ति बजेट विनियोजन गरेका छौँ । बुटवलको प्रमुख गन्तव्य हिलपार्कलगायतका क्षेत्रमा बजेट विनियोजन गरेर स्थानीय सरकार र लगानीकर्तासँग छलफल चलाएर थप काम अघि बढाउने योजना छ ।’

 

लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहको हिलपार्क र उत्तरको अर्काे डाँडालाई जोड्ने गरी वाइल्ड बिल्डर्स नेपाल प्रालिले साहसिक खेल जीप लाइन सञ्चालनमा ल्याएको हो ।

 

कार्यक्रममा बुटवल उपमहानगरका पूर्वनगरप्रमुख तथा लुम्बिनी प्रदेशका सभासद् भोजप्रसाद श्रेष्ठले यस क्षेत्रमा  पर्यटकीय पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिए ।


‘बुटवल उपमहानगरको नगरप्रमुख हुँदादेखि नै पर्यटन पूर्वाधार र नयाँ गन्तव्यको खोजी सुरु गरेका थियौँ । यस क्षेत्रमा पर्यटक भित्र्याएर जिल्लाकै आम्दानी बढाउने गरी काम गर्ने बेला आएको छ’, श्रेष्ठले भने ।


७ सय ५० मिटरको तारबाट जीप लाइन गर्न सकिनेछ । हिलपार्क जीप लाइन परियोजनामा पहिलो चरणमा करिब सवा करोड रुपैयाँको काम भइरहेको छ ।

 

राजकुमार श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारी यसका सञ्चालक हुन् । पहिलो चरणमा जीप लाइनको पूर्वाधार तयार भएको छ । दुवै डाँडामा रूखलाई नै आकर्षक ढंगले मचाङ बनाइएको छ । जीप लाइनमा झुन्डिएर पर्यटकले बुटवल सहरको सुन्दर दृश्यावलोकन गर्न सक्छन् ।

 

‘लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेनागृह निर्माणको समेत तयारी छ’, श्रेष्ठले भने, ‘दुईतर्फी जीप लाइन सञ्चालन मुलुकभरकै बुटवलमा मात्रै हो ।’

 

एकातर्फ ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरी दुईतर्फी १ हजार ४ सय मिटर दूरीको यो सम्भवतः नेपालकै सबैभन्दा लामो जीप लाइन हो ।

 

वाइल्ड बिल्डर्स नेपाल प्रालिका सञ्चालक राजकुमार श्रेष्ठले खेलसँगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताए । कम्पनीले चितवन र गोदावरीमा यो परियोजना सञ्चालनमा ल्याइसकेको छ ।

 

वनलाई नबिगारी साहसिक खेल भित्र्याउने काम गरिएको वन उपभोक्ता समूहका अध्यक्ष यामबहादुर थापाले जानकारी दिए । ‘प्राकृतिकमैत्री पूर्वाधार बनाइएको छ,’ उनले भने ।


 
नेपालमा काठमाडौंबाहिर चितवन, पोखरा, धुलिखेलमा समेत यो सञ्चालनमा छ । जीप लाइनमा ५ जनाले रोजगारी पाएका छन् ।

 

कार्यक्रममा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले भने, ‘लुम्बिनी आउने पर्यटकलाई बुटवलमा घुम्ने वातावरण मिलाउन यो नयाँ परियोजनाले सघाउनेछ ।’ बुटवलको उजुरसिंहपार्क, हिलपार्क, फूलबारीलगायत क्षेत्रमा पर्यटन प्रवद्धर्नका लागि काम भइरहेको सुवेदीले जानकारी दिए ।