close

दिप्रुङका घरघरमै स्वास्थ्य र कृषि पहुँच

दिप्रुङका घरघरमै स्वास्थ्य र कृषि पहुँच

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्वास्थ्य, कृषिमा स्थानीयको पहुँच बढाएर उत्पादन वृद्धि गर्ने उद्देश्यसहित थप जनशक्ति व्यवस्थापन गरेको छ । गाउँपालिकाले स्वास्थ्य, कृषि तथा पशु विकास शाखाका लागि २० कर्मचारी नियुक्त गरेको हो ।

 

स्वास्थ्यमा नागरिकको पहुँच वृद्धिका लागि गाउँपालिकाले स्वास्थ्य शाखामा १० जना र किसानलाई लक्षित गर्दै कृषि तथा पशु विकास शाखामा १० जना कर्मचारी नियुक्त गरेको हो । कर्मचारीलाई मंगलबारै नियुक्ति दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाइएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले आवश्यकताअनुसार करार अवधि थप हुने गरी जागिर खुलाउँदा स्वास्थ्य, कृषि तथा पशु सेवातर्फ अध्ययन गरेका विभिन्न ठाउँका युवायुवतीले अवसर पाएका छन् ।


गाउँपालिकाले एक वर्षे करारमा २ स्टाफ नर्स, १ ल्याब असिस्टेन्ट, ४ अहेब र ३ जना अनमी नियुक्त गरेको छ । केही समयअघि स्थापना गरिएको अस्थायी कोभिड अस्पतालका लागि स्टाफ नर्स र ल्याब असिस्टेन्ट नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

यस्तै, सिटामोलका लागि घन्टौँ हिँड्नुपर्ने दूरदराजमा सामुदायिक स्वास्थ्य इकाइ विस्तारका निम्ति आवश्यक जनशक्तिको व्यवस्था गर्न अहेब नियुक्त गरिएको हो ।

 

दिप्रुङ चुइचुम्मा वडा– ४ बतासेको भँडारेघाट र वडा– ७ टेम्माको दिलैँचीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको गाउँपालिकाले केही समयपछि धिप्लुङ झरना जाने बाटोमा पर्ने छितापोखरीको दुधिलेभञ्ज्याङलगायतका स्थानमा स्वास्थ्य इकाइ विस्तार गर्ने तयारी गरेको छ ।

 


सुरक्षित रूपमा सुत्केरी गराउने तालिम लिएका अनमीलाई भने स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा खटाउने गरी नियुक्त गरिएको हो । ‘गाउँपालिकाका सबै ७ वडामा बर्थिङ सेन्टर स्थापना गरिए पनि कतिपय बर्थिङ सेन्टरमा जनशक्ति अभाव भएकाले नयाँ अनमी नियुक्त गरिएको हो’, गाउँपालिका अध्यक्ष राईले भने ।

 

ल्याब असिस्टेन्टको कोटा नभएको अस्थायी कोभिड अस्पतालमा ल्याब असिस्टेन्ट राखेपछि कोभिडको मात्र नभएर अन्य बिरामीको पनि उपचार गरिनेछ ।

 

‘१ वडा १ कृषि तथा पशु प्राविधिक’

 

‘१ वडा १ कृषि तथा पशु प्राविधिक’ को व्यवस्थाका लागि गाउँपालिकाले कृषि सेवातर्फ १ कृषि जेटी र ३ जना जेटीए तथा पशु सेवातर्फ ६ जना जेटीए नियुक्त गरेको छ ।

 

किसानको कृषि तथा पशुसम्बन्धी समस्या हल गर्न गाउँपालिकाका ७ वटै वडामा १ कृषि प्राविधिक र १ पशु प्राविधिकको व्यवस्था गरिएको हो । हालसम्म पशु तथा कृषि प्राविधिक नभएका वडामा १ कृषि प्राविधिक र १ जना पशु प्राविधिक खटाउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।