close

पदमार्ग बनाउन रातभर ज‌ंगलकाे बास

पदमार्ग बनाउन रातभर ज‌ंगलकाे बास

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिकाले संसारको सातौँ ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरलाई पदमार्गले जोड्ने तयारी गरेको छ ।

 

 

 

नेपाल सरकारले पर्यटकीय गन्तव्यको रूपमा छनोट गरेको रघुगंगाको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको हो ।

 

करिब १ दशकअघि पहिचान भएको यो पदमार्गलाई सञ्चालनमा ल्याउन गाउँपालिकाले हालै स्थलगत रूपमा सम्भावना र समस्याको अध्ययन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

 

‘गाउँपालिकाका अधिकांश वडा समेटेको यो पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन जनप्रतिनिधि, प्राविधिक, स्थानीयलगायतको टोलीलाई पहिलो चरणको अवलोकन भ्रमण गराएका छौँ’, उनले भने ।


डीपीआर बन्दै

 

रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मको पदमार्ग सञ्चालनका लागि गाउँपालिकाले डीपीआर तयार गर्ने काम अन्तिम चरणमा पुर्‍याएको अध्यक्ष भण्डारीले बताए । उनले भने, ‘डीपीआरको आधारमा पर्यटन पूर्वाधार थप गर्दै लैजाने तयारीमा छौँ ।’

 

डीपीआरको अन्तिम रिपोर्टपछि सम्बन्धित निकाय र मन्त्रालयसँग सहकार्य गरेर काम अघि बढाइने अध्यक्ष भण्डारी सुनाउँछन् ।


टोलीले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दरमिजा–चिमखोला–घ्यासिखर्क–छरी हुँदै धौलागिरि आइसफल र धौलागिरि आधार शिविरसम्म पुगेर पदमार्ग सञ्चालनको अवस्थाबारे अध्ययन गरेको थियो ।


पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य थममाया थापा, गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा सदस्य बुद्धिमाया पुन, प्राविधिकलगायतको टोलीले पदमार्ग अध्ययन गरेको हो ।


पदमार्ग बनाउन गाउँलेको जंगल बास

 

१ साता समय लगाएर गरिएको अध्ययन भ्रमणका क्रममा पदमार्गअन्तर्गत निर्माणाधीन पूर्वाधारको समेत अवलोकन गरिएको थियो । चालू आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गको समेत अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।


‘चिमखोलाका स्थानीय जंगलमै ओढारमा बास बसेर पदमार्ग बनाइरहेका छन् । अक्करे भीरमा पदमार्ग खन्ने काम जारी छ । अवलोकन र नापजाँचको कामसमेत गरेका छौँ । बाँकी रहेको बजेटबाट समेत पदमार्ग निर्माण गर्न टोलीलाई सुझाइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने । स्थानीयले पदमार्गअन्तर्गत कोखे भीरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् ।

 

कोखे भीरसँगै पापीधर्मी भीरमा ३ सय मिटर बढी कडा पहाड कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको टोलीमा सहभागी असिस्टेन्ट सब–इञ्जिनियर सुमन बुढाथोकीले जानकारी दिए । अक्करे भीरमा पहाड खन्ने र जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माणले तीव्रता पाएको छ ।


म्याग्दी–मुस्ताङ जोड्ने वैकल्पिक पदमार्ग

 

पदमार्गको अध्ययन भ्रमणका क्रममा आधार शिविर पुगेकी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं प्रतिनिधिसभा सदस्य थापाले म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्गको रूपमा धौलागिरि आइसफल पदमार्गलाई विकास गर्न पहल गर्ने बताइन् ।


‘यो पदमार्गको अत्यधिक सम्भावना रहेछ । केही ठाउँमा अझै पदमार्ग बनाउन बाँकी रहेको पाइयो । पदमार्ग, आवासगृहलगायतका पर्यटन पूर्वाधार निर्माण गर्न संघीय सरकारमार्फत पहल गर्छु,’ पूर्वमन्त्री थापाले भनिन् ।


टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको प्रारम्भीक अध्ययन गरिएको थियो । पदमार्गको पहिचान भएको दशक पुग्न लाग्दासमेत सञ्चालनमा ल्याउन सकिएको छैन ।


पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायतबाट विनियोजित बजेटबाट भगवतीको रुइसे क्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्रयाक निर्माण भइसकेको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए ।

म्याग्दी र मुस्ताङ जोड्ने पुरानो पैदलमार्ग बेनी–जोमसोम सडक सञ्चालन भएसँगै विस्थापित भएपछि त्यसको विकल्पमा नयाँ पदमार्ग पहिचान गरिएको हो ।


यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले रघुगंगा र मंगला गाउँपालिकाको सीमामा रहेको टोड्केदेखि रघुगंगाको झिँ–पाखापानी–रायखोर–घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर जोड्ने अर्को पदमार्गसमेत पहिचान गरेर नक्सा तयार पारेको छ ।


गाउँपालिका दुवै पदमार्ग सञ्चालन गरेर पर्यटक भित्र्याउने तयारीमा जुटेको छ । पदमार्गको प्रचारप्रसारका लागि चालू आर्थिक वर्षमा रुइसेमा महोत्सव सञ्चालन गर्न बजेटसमेत विनियोजन गरेको छ ।


पदमार्गका आकर्षण


धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यो पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जंगली पशुपक्षी र तिनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिने चिमखोलाका गमबहादुर पुनले बताए ।


पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमंगले, दोबालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।