close

मध्यपहाडी लोकमार्गको प्रगति १० वर्षमा जम्मा ५० प्रतिशत !

मध्यपहाडी लोकमार्गको प्रगति १० वर्षमा जम्मा ५० प्रतिशत !

Trulli
ADVERTISEMENT

(पूर्वाधारमा झेल पालिकाखबरको नियमित स्तम्भ हो । यसमा स्थानीय तहमा पूर्वाधार विकासमा देखिएका विकृतिलाई हामी निरन्तर रुपमा प्रस्तुत गर्नेछौं । पूर्वाधार विकासका वाधक, समस्या, योजना असफल हुनुमा र ढीलाइ हुनुमा जिम्मेवार को ? आयोजना सम्पन्न गर्न के गर्नुपर्छलगायतका विषयमा हामी यो स्तम्भमार्फत नियमित खबरदारी गर्नेछौं ।) 

 

बाग्लुङ- मध्यपहाडी लोकमार्ग बाग्लुङ खण्डको २५ किलोमिटर सडक वर्षौंदेखि अलपत्र छ । २०६८ देखि थालिएको लोकमार्ग आयोजनाको काम पटक-पटक अलपत्र पर्दै ५० प्रतिशत मात्रै पूरा भएको हो । बाग्लुङको २५ किमि खण्डको कतिपय स्थानमा अझै चौडा पार्ने काम भएको छैन । खाल्डा पुर्ने, ग्राभेल गर्ने र कालोपत्रेको काम कहिले हुने हो, ठेकेदारसमेत बेखबर छन् ।

 

वर्षौंदेखि काम अलपत्र पार्ने ठेकेदार भने लकडाउनलाई बहाना बनाएर तर्केका छन् । ठेकेदारले काम नगरेपछि बर्खामा यातायात ठप्पै हुन्छ । हिउँदमा पनि यात्रुले जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ । सडक ठप्प हुँदा पश्चिम बाग्लुङका ५ पालिकाका जनप्रतिनिधि जिल्ला समन्वय, विकास निर्माणको समीक्षा र अन्य अत्यावश्यक बैठक भ्याउन पनि नसकेको गुनासो गर्छन् । 

 

‘सडक समस्याले सदरमुकाम ल्याउन नसकेपछि २ महिनामा ५ जना महिलालाई हेलिकोप्टरबाटै उद्धार गर्नुपर्‍यो,’ बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘सडकको सास्तीले पटक–पटक जिल्ला टुक्र्याउने एजेन्डा बनाउनु परेको थियो ।’ बाग्लुङदेखि घोडाबाँधेसम्मको २५ किमि खण्डको सास्तीले पश्चिम बाग्लुङको यात्रा कष्टकर भएको थियो । 

 

३ वर्षका लागि ठेक्का लिएका कम्पनीले पटक–पटक अलपत्र पारेर ५ वर्ष पार गरिसकेका छन् । काम भने ५० प्रतिशत पनि गरेका छैनन् । ठेकेदार नआउने, चाडपर्व र असार मसान्तमा गिटी थुपारेर काम गरेझैँ मात्रै देखाउने गरेकाले जिल्लाबासीले सास्ती बेहोर्नु परेको बाग्लुङ नगरपालिका वडा– ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् । 

 

‘राती एम्बुलेन्समा फसियो भनेर फोन आउँछ । ठेकेदारहरू बेखबर छन् तर जनप्रतिनिधिले कामै गरेनन् भनेर आरोप लाग्छ,’ उनले भनिन्, ‘कामको जिम्मा लिएर अलपत्र पार्दा नागरिकको ज्यानै खतरामा परेको छ । यसको जिम्मा कसले लिन्छ ?’ ठेकेदारलाई प्रशासनले नियन्त्रणमा लिएर काम गराउनुपर्ने उनको माग छ ।


प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले अब काममा यताउता हुन नदिइने दाबी गरे । सबैको ताकेतापछि ठेकेदारले पनि आगामी जेठ मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएका छन् । सदरमुकामदेखि अक्षेते हँुदै सुल्डाँडासम्मको १३ किमि खण्ड भारत, सिद्धिसाई संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको छ । यो खण्डको १३ करोड लागतमा ४९ प्रतिशत मात्रै काम भएको मुख्य ठेकेदार दीपेन्द्रबहादुर शाहीले बताए ।

 

‘लकडाउन, खानेपानीको पाइपलाइन तथा केही घरटहरा हटाउने समस्याले काम रोकिएको हो,’ शाहीले भने, ‘आगामी जेठ मसान्तसम्मको म्याद थपिदिने हो भने काम सक्छु ।’ उनले दुई पटक म्याद थप गरेर ५ वर्ष बिताएका छन् । बिहुँ-घोडाबाँधे खण्डमा एमपीएसीएफ सूर्य संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । १० माघ २०७२ को ठेक्काको कामबाट अहिलेसम्म ५५ प्रतिशत प्रगति भएको ठेकेदार सूर्यबहादुर खड्काले बताए ।

 

‘आयोजना कार्यालयले डिजाइन फेर्न भनेपछि ७ किमि नाली निर्माण गरेको रकम भुक्तानीमा साथ दिएन,’ खड्काले भने, ‘कामदारलाई ज्याला दिन नपाएपछि काम गर्न सकिएन ।’ मध्यपहाडी लोकमार्गको पर्वत, बाग्लुङ खण्ड हेर्ने आयोजना प्रमुख मेघराज मरासिनीले ठेकेदारहरू सम्पर्कमा नआउने मुख्य समस्या भएको टिप्पणी गरे । 

 

‘ठेकेदार सम्पर्कमा नआएपछि माथिल्लो तहमा समन्वय गर्न नसकिएको हो,’ मरासिनीले भने, ‘अन्तिम पटकका लागि म्याद थप्न काम सक्ने ग्यारेन्टी माग गरेका छौँ ।’ पटक-पटक म्याद थपेर अलपत्र पार्ने गरी भुक्तानी दिन पनि नसकिने उनले बताए । काम नगरे आयोजनाले कालोसूचीको प्रयास थाल्ने तयारी गरेको थियो ।

 

ग्राभेलको सामग्री खन्ने र माटो फाल्ने काममा स्थानीयले अवरोध गरेको ठेकेदारको दाबी छ । बाग्लुङस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयले ३३ लाख ७० हजार रुपैयाँ भुक्तानी लिएर पाइपलाइन नहटाएकोसमेत शाहीले आरोप लगाए ।

 

घोडाबाँधेदेखि पश्चिमको १ सय १२ किमि सडक भने कालोपत्रे भइसकेको छ । सडकको सास्ती देखाएर संविधान निर्माणका बेला पश्चिमका ५ पालिकाले बुर्तिवाङ मुकाम रहने गरी छुट्टै जिल्लाको माग गरेका थिए । २०५४ मा ग्रामीण सडकको रूपमा ट्रयाक खुलेको यो सडक २०६८ मा मध्यपहाडी लोकमार्ग आयोजनाले ठेक्का लगाएको थियो ।