close

कृषिमा आत्मनिर्भर बन्न स्थानीय बालीमा अनुदान

कृषिमा आत्मनिर्भर बन्न स्थानीय बालीमा अनुदान

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि स्थानीय बाली कोदो, फापर प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आव २०७७/०७८ को नीति तथा कार्यक्रमअन्तर्गत ‘मानव जीवनको आधार कृषि उपज नै हो आहार’ नारासहित यो कार्यक्रम ल्याएको हो । 
 

पालिकाले स्थानीय क्षेत्रको बाली संरक्षण गर्न ल्याएको कार्यक्रमका लागि चालू आवमा नगरले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख श्रवणकुमार पासवानका अनुसार नगरका ९ वटै वडामा उक्त कार्यक्रम सञ्चालन गरिनेछ । 
 


‘त्यसका लागि किसानलाई चालू आवको चौमासिकमा सामूहिक मूल बीउ, आत्मनिर्भर कार्यक्रमअन्तर्गत धान, गहुँ, मकै, भटमासमा ५० प्रतिशत अनुदान वितरण गरिसकिएको छ’, पासवानले भने ।

 

नगरमा संघ, प्रदेशसँगको समन्वयमा न्यूनतम बचत ग्यारेन्टीसहितको नमुना कृषि उपज केन्द्र स्थापना हुनेछ । सीपमूलक व्यावसायिक तरकारी खेती बालीसम्बन्धी, फलफूल खेती, च्याउ उत्पादन, रोग किरा पहिचान तथा व्यवस्थापन तालिम सञ्चालन गरिनेछ । पासवानका अनुसार तालिमका लागि ९ वटै वडाबाट कृषक छनोट गरी पुस दोस्रो साताबाट सञ्चालन गरिनेछ । 

 

यस्तै, ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत साना सिँचाइ निर्माण तथा मर्मत सम्भार, कृषि चुन वितरण, तरकारी खेतीका लागि प्लास्टिक सिट वितरण, व्यावसायिक कृषकका लागि मागमा आधारित कार्यक्रम, कम्पोस्ट मल सुधार र कृषि औजार कार्यक्रम सञ्चालन हुनेछ । 

 

कार्यक्रमका लागि नगरले १ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको कृषि विकास शाखाले जनाएको छ ।