close

तमोर नदीमा फेरीका दिन गए, दुई ठाउँमा पक्की पुल बन्ने भए

तमोर नदीमा फेरीका दिन गए, दुई ठाउँमा पक्की पुल बन्ने भए

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ तापेथोक र वडा नम्बर ६ लेलेप भई बग्ने तमोर नदीका अस्थायी काठे पुल विस्थापन हुने भएका छन् । तापेथोक र लेलेपमा एकैसाथ २ मोटरेबल पुल (बेलिब्रिज) निर्माण सुरु गरिएको हो ।

 

सवारी वारपार गर्न हिउँदभरिका लागि बनाइने अस्थायी काठेपुल विस्थापन हुनेछन् भने पक्की पुल बनेपछि बाह्रैमास सवारी आउजाउ गर्न सक्नेछन् ।

 

तापेथोक र लेलेपमा बन्न लागेका २ ठूला जलविद्युत् परियोजनाको प्रवर्द्धक रेमिट हाइड्रोले फक्ताङलुङको वडा नम्बर ५ तापेथोकको रानीपुल तथा वडा नम्बर ६ लेलेप जोड्ने ठाउँ र वडा नम्बर ६ हान्द्रुङ र सेकाथुम घुन्सा जाने बाटोतर्फ तमोर नदीमा २ मोटरेबल पुल निर्माण गर्न थालेको हो ।

 

रेमिट हाइड्रो नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको जलविद्युत् आयोजना हो । यसमा ४९ प्रतिशत सेयर लगानी स्थानीयको हुनेछ ।

 

फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष छोवाङ शेर्पाका अनुसार ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दुवै पुलको शिलान्यास गरेका हुन् । एचएसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल, रेमिट हाइड्रोका प्रमुख कार्यकारी अधिकृत नगेन्द्रप्रसाद ज्ञवालीसहितको उपस्थिति र वडाध्यक्ष शेर्पाको अध्यक्षतामा पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

 

इलाइट जेभी कन्स्ट्रक्सनले करिब २२ करोड रुपैयाँको लागतमा आउँदो चैतभित्रै सम्पन्न गरी दुवै पुल आयोजनालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । 

 

उनले भने, ‘यो पुल बनेपछि फक्ताङलुङ गाउँपालिकाको माथिल्लो क्षेत्र लेलेप, सेकाथुम, घुन्सा, लुङ्थुङ र ओलाङचुङगोलाका बासिन्दाले तमोर नदीका कारण सडक पुगेको क्षेत्रसम्म सवारी लैजान नसक्ने अवस्था अन्त्य हुनेछ ।’

 

फक्ताङलुङको वडा नम्बर ५ तापेथोक र वडा नम्बर ६ लेलेपमा नेपाल सरकारको स्वामित्वका दुई ठूला परियोजना छन् । ७७.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना घुन्सा खोलाबाट र ७१.१ मेगावाट क्षमताको अर्को आयोजना सिम्बुवा खोलालाई आधार मानेर विद्युत् उत्पादन हुनेछ ।