close

खोरभरि बाख्रा, बारीभरि फलफूल, गोजीभरि पैसा

खोरभरि बाख्रा, बारीभरि फलफूल, गोजीभरि पैसा

Trulli
ADVERTISEMENT

रुकुमपूर्व- रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर- १२ कोलका गंगाप्रसाद बुढा मगरले व्यावसायिक रूपमा फलफूल खेती र बाख्रापालन गरेर आम्दानी लिन थालेका छन् । तीन वर्षसम्म परदेशमा रोजगारी गर्दा एक सुको बचत नभएपछि आफ्नै थातथलो फर्केर बुढाले कृषि कर्मलाई अगाडि बढाएका हुन् ।

 

उनले स्वदेश फर्किएर नौ वर्षसम्म खच्चरपालन गरी गाउँमै सामान ढुवानीको काम पनि गर्न भ्याए । कोलसँग पुथा वडा नम्बर- १४ राङ्सी सडक संजालको पहुँचमा पुगेपछि खच्चर बिक्री गरी राङ्सीमा पसल चलाए ।


‘पसलबाट पनि सोचेजस्तो आम्दानी भएन । त्यसपछि फलफूल खेती र बाख्रापालनमा लागेको हुँ । अहिले घरमै बसेर आम्दानी लिन थालेको छु’, बुढा खुसी सुनिए । बुढाले आफ्नै लगानीमा फलफूल खेतीमा साढे चार चार लाख र बाख्रापालनमा साढे सात लाख गरी १२ लाख रुपैयाँमा रोजगारीमूलक कृषि व्यवसाय गर्न थालेका छन् । 

 

बुढाले १०० वटा बाख्रा अट्ने क्षमताको सोही वडाको गोल्खाडामा आधुनिक गोठ तयार गरेका छन् भने पुथा वडा नम्बर- १२ कै चुम्गामा ३०० बोट टिमुरका बिरुवा लगाएका छन् । यस्तै, ढुमलागामा कागती र सुन्तला गरी ३५० बोट, गोल्खाडामा साढे ४०० बोट स्याउ, कोलमा ३ ०० बोट स्याउका बिरुवा र गोल्खाडामै १४२ बोट दाँते ओखर लगाएर आम्दानी लिन थालेको बुढाले बताए । 

 

‘फलफूल खेतीका लागि मल आवश्यक पर्ने हुँदा बाख्रापालन व्यवसाय सुरु गरेको हुँ’, बुढाले भने । अहिले खोरमा १२ वटा माउ बाख्रा रहेकामा पुसभित्रै थप ३० वटा माउ बाख्रा खरिद गरी दुई जनालाई बाख्रा हेरालुका रूपमा रोजगार दिने योजना रहेको उनले सुनाए । 

 

गंगा कृषि उत्पादन तथा पशु फर्म दर्ता गरी रोजगारीमूलक कृषि व्यवसायमा लागेका बुढा सरकारसँग कृषि अनुदानका लागि पहल गरिरहेको बताउँछन् । अहिले विभिन्न फलफूलका गरी करिब एक हजार ७०० फलफूलका बोट हुर्काए पनि सुरक्षाका लागि सरकारी सहयोग पाए घेराबारा गर्न सकिने उनको अपेक्षा छ ।


बुढाको बाख्रापालन फार्मको केही दिनअघि संघीय सांसद कमला रोका, प्रदेशसभा सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समिति उपप्रमुख भीमकुमारी पुन, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)लगायतले निरीक्षण गरेका थिए ।