close

नगरलाई गिज्याउँदै उदिनढुंगा बसपार्क (भिडियाे खबर)

नगरलाई गिज्याउँदै उदिनढुंगा बसपार्क (भिडियाे खबर)

ADVERTISEMENT

गुल्मी- जिल्लाको उदिनढुंगा बसपार्क अत्यन्तै व्यस्त छ । गुल्मीको क्षेत्र नं.- २ का अधिकांश स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनले उदिनढुंगा बसपार्क सधैँ खचाखच हुन्छ । 


तर, अतिमहत्त्वपूर्ण र व्यस्त बसपार्कको व्यवस्थापन नहुँदा नागरिक र यातायात व्यवसायीले सास्ती खेपिरहेका छन् । हिउँदमा धुलाम्य, वर्षातमा हिलाम्ये । रेसुंगा नगरपालिका- २ उदिनढुंगामा बसपार्कको आधार निर्माण गरेको करिव एक दशक भयो । तर, अहिलेसम्म बसपार्क कच्ची नै छ भने बसपार्क भवन वर्षौंदेखि अलपत्र परेको छ ।


शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाद्वारा बसपार्कको प्रशासनिक भवन निर्माण सुरु भएको थियो । निर्माणको कामले गति नलिएपछि बसपार्क भवन सार्वजनिक शौचालयभन्दा फरक छैन । भवनमा बिग्रिएका गाडी राख्ने, गाई गोरु ओत लाग्ने, सडक बालबालिका सुत्ने र दिसा-पिसाब गर्ने गरेकाले दुर्गन्धित बन्दै गएको छ ।

 

पानी परे हिलो र घाम लागे धुलोले बसपार्क झर्ने यात्रु तथा बसपार्क नजिक घर भएकाहरू पीडित बन्दै आएको यातायात व्यावसायी माधव बिष्टले गुनासो गरे । उनले सदरमुकाममै राज्यको लगानी बालुवामा पानी सरह हुँदा स्थानीय सरकार र सरोकारवाला मुख बन्द गरेर बसेको आरोप पनि लगाए । 


बसपार्क भवनका लागि २०७२ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ५१ लख रुपैयाँको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टरलगायत कोठाहरूको डिजाइन गरिएको छ । २०७३ सालमा ६० लाख रुपैयाँको मात्र टेण्डर गरियो ।

 

सोही बराबरको काम पनि भएको छ । त्यसपछि कार्यालयले ०७४ को वैशाखमा तीन करोडको टेन्डर आह्वान भयो । तर, अन्तिममा सोही कार्यालयले मूल्यांकन नगरिदिएकाले भवन अलपत्र परेको बसपार्क व्यास्थापन समितिको आरोप छ । 

 

पुनः २०७६ को वैशाखमा ६० लाख रुपैयाँ विनियोजन भयो । टेन्डर गर्ने समय पुगेन । बसपार्क व्यवस्थापन समितिले काम गरेन, जसका कारण त्यो रकम पनि फ्रिज गयो । 


पछिल्लो समय विनियोजन भएको पाँच लाख रुपैयाँले बसपार्कमा सामान्य ग्राभेलको काम भएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए । उनले सीमित बजेटले भवनको बाँकी काम गर्ने अवस्था नभएकाले अलपत्र बसपार्कका बारेमा आयोजना कार्यान्वयन गर्ने कार्यालय, विभाग र मन्त्रालयदेखि मन्त्रीसम्मको ध्यानाकर्षण गराएकाले अधुरै अवस्थामा रहन नदिने बताए । 


भवनको डीपीआरदेखि ६० लाख रुपैयाँको काम गर्ने कार्यालय शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा हो । अहिले त्यो जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ, रूपन्देहीमा सरेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ, रूपन्देहीका कार्यालय प्रमुख राजेन्द्र पाण्डेले भवनको विषयमा पटकपटक विभागमा पत्राचार र ध्यानाकर्षण गराए पनि बजेट नै नपरेकाले काम गर्न नसकिएको बताए । 


बसपार्कको आधा भाग नै भवनले ओगटेको छ । त्यसलाई स्थानीय र व्यावसायीहरूले गलत डिजाइन भन्दै आएका छन् । जथाभावी पार्किङ, ग्यारेज र यात्रुको फोहोरले बसपार्क दैनिक प्रदूषित र साँघुरो बन्दै गएको छ । पछिल्लो समय बसपार्कमा भन्दा सडकमै धेरै सवारी साधन रोकिन्छन् । अहिलेकै अवस्थामा ३० प्रतिशत बस, मिनी बस र जीपहरू मात्र बसपार्क हुन्छन् । ७० प्रतिशत सवारीहरूको पार्किङ सडक छेउ नै हो । 


साँघुरो सडकमा सवारी साधन बढी र पार्किङका लागि बसपार्कको राम्रो व्यवस्था नभएकाले निकै मुस्किल परेको गुल्मी यातायात व्यावसायी समितिका महासचिव हिमाल कुँवरले बताए । उनले सुरुबाटै आफूहरूले भवनभन्दा बसपार्क पिचको कुरालाई जोड दिँदै आएको बताए । 


‘बसपार्क भवन अलपत्र पर्‍यो, व्यवसायीहरू भाडामा सटर खोजेर बसेका छन्’, उनले भने, ‘अब भवन के सम्पन्न गर्नुपर्छ नत्र डोजर लगाएर हटाउनुपर्यो ।’ 


बसपार्क व्यवस्थित नभएका कारण उदिनढुंगा चोकको ओरालोमा यातायात व्यवसायीका काउन्टर छन् । त्यहाँ नागरिकको दैनिक भीड हुन्छ । ओरालो चोकका कारण दुर्घटनाको संभावनासमेत त्यतिकै छ यहाँ ।