close

अब सबै माविमा स्थायी प्रधानाध्यापक 

अब सबै माविमा स्थायी प्रधानाध्यापक 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माध्यमिक विद्यालयमा मावि स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको छ । हालसम्म प्राविका शिक्षक, राहत दरबन्दीका शिक्षक तथा अस्थायी शिक्षक प्रअ रहेका माविमा नगरपालिकाले स्थायी मावि शिक्षकलाई प्रअका रूपमा पठाउने निर्णय गरेको हो । 


गत वर्ष शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले यसपल्ट नगरपालिकाभित्रका सबै माविमा दरबन्दी मिलान गर्दै मावि तहकै शिक्षकलाई प्रअको जिम्मेवारी दिने तयारी गरिएको हो । विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि माविमा मावि तहकै स्थायी शिक्षकलाई प्रअका रूपमा पठाउने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।

 

नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभूत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ । ११ वडा रहेको नगरपालिकामा ११ वटै मावि छन् ।

 
नगरपालिकाले दरबन्दी मिलानका क्रममा दाम्ली मावि डिकुवामा विष्णु राई, च्यास्मीटार माविमा नयनकुमार राई, लक्ष्मी मावि बडहरेमा केदार शाह, पीपलडाँडा मावि मंगलटारमा खम्बराज राई, महेन्द्रोदय मावि हलेसीमा मनकुमार राई, बुलापन्थे मावि धितुङमा पदम कार्की, सरस्वती मावि अर्खौलेमा नवीन चाम्लिङ र राजापानीमा रामदेव यादवलाई प्रअको जिम्मेवारी दिने आन्तरिक तयारी गरेको छ । 


योग्यताअनुसार जनता मावि सल्लेका प्रअ तुलाचन्द्र राई, दुर्छिम माविका प्रअ मेजर राई र कालिका मावि बाहुनीडाँडाका प्रअ मेघनाथ घिमिरेलाई भने नगरपालिकाले यथावत राख्ने जनाएको छ । प्रावि वा आधारभूत तहका शिक्षक प्रअ हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्य गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी हरेक माविमा स्थायी शिक्षकको व्यवस्था गर्न लागिएको नगरप्रमुख राईले बताए । 


उच्च शिक्षा हासिल गरेका तथा क्षमतावान् शिक्षकले माविको नेतृत्व पाउँदा अन्य शिक्षकको मनोबलसमेत उच्च हुने दाबी गरिएको छ । 


तल्ला तहका शिक्षक प्रअ हुँदा कतिपय विद्यालयमा ‘प्रोटोकल’को विवाद हुने गरेको थियो । ‘प्रोटोकल’को समस्याले कतिपय विद्यालयको शैक्षिक वातावरणसमेत धमिलिने गरेको तथ्यलाई ध्यान दिँदै माविमा मावि तहकै स्थायी शिक्षकलाई प्रअ बनाउने व्यवस्था कार्यान्वयन गरिएको प्रमुख राईले बताए । 


‘हालसम्म कतिपय माविमा प्राविका शिक्षक नै प्रअ थिए । त्यसले प्रोटोकलमा समस्या ल्याउँदो रहेछ र नेतृत्वलाई अस्वीकार गर्ने समस्या सिर्जना भएको पाइयो’, नगरप्रमुख राईले भने, ‘क्षमतावान् शिक्षक बाहिर रहँदा विद्यालयमा अपेक्षाकृत सुधार गर्न सकिँदो रहेनछ भन्ने तथ्यलाई मनन् गर्दै शैक्षिक स्तर उकास्नका लागि तहअनुसारको प्रअ राख्ने निर्णय गरिएको हो । यस कदमबाट विद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरेका छौँ ।’


२०७६ सालमा सुरु गरिएको शैक्षिक सुधार वर्षको अभियानको निरन्तरता स्वरूप नगरपालिकाले स्थायी मावि दरबन्दी नभएका माविमा मावि शिक्षक पठाएर प्रअ बनाउने निर्णय कार्यान्वयनमा ल्याएको हो । दरबन्दी मिलानमा परेका शिक्षकलाई शैक्षिक, प्रशासनिक र नेतृत्व विकाससम्बन्धी दुई दिने तालिममा सहभागी गराएर प्रअको जिम्मेवारी दिएर विद्यालयमा खटाउने नगरपालिकाको तयारी छ । 


शैक्षिकसत्रको सुरुमै सबै माविमा मावि स्थायी शिक्षकलाई प्रअ बनाउने लक्ष्य राखिए पनि कोरोनाका कारण योजना प्रभावित भएको नगरप्रमुख राईले बताए । शैक्षिक सुधारका लागि नगरपालिकाले सुझाव संकलन गर्ने, प्रतिवद्धता जुटाउने, क्षमता विकास तालिमलगायतका क्रियाकलाप संचालन गरिसकेको छ । 


‘शैक्षिक रूपमा योग्य र शिक्षित जनशक्ति उत्पादन गर्न नसकेसम्म समाजमा विकास र समृद्धिको अपेक्षा गर्न सकिँदो रहेनछ’, राईले भने, ‘शैक्षिक रूपमा योग्य जनशक्ति निर्माण र उत्पादनमा टेवा पु¥याउने नगरपालिकाको जोड बलकै प्रयास हो यो ।’