close

वैदेशिक रोजगारीमा जानेलाई तालिम दिँदै शहीदनगर

वैदेशिक रोजगारीमा जानेलाई तालिम दिँदै शहीदनगर

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका छन् । 


२१औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख बरबरियाले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले उनीहरूलाई सीपमूलक तालिमको व्यवस्था गर्नका लागि पाँच लाख रुपैयाँ छुट्याउनेसमेत जानकारी दिए । 


नगरप्रमुख बरबरियाले पालिकामै सीपमूलक तालिमका लागि अलग्गै कक्षको व्यवस्थासमेत गरिने बताए । यसअघि कोरोना संक्रमण चरममा रहेका बेला भारतमा काम गर्दै आएका वीरेन्द्र गुरमैताको धनुषाको नेपाल-भारत सीमा जटहीमा भोकका कारण मृत्यु भएको स्मरण गर्दै उनले गुरमैताको परिवारलाई पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेको जानकारी दिए । 

 

आप्रवासी हकहित संरक्षण केन्द्र र मित्र धनुषाको आयोजना भएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले तीनै तहका सरकारलाई वैदेशिक रोजगारमा जानेहरुका लागि सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए । 


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य श्रवण बरबरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका संयोजक विवेक यादवले मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानिरहेका बेला आप्रवासी कामदारहरूको विषयमा कुनै पनि सरकार जिम्मेवार नहुनु दुःखद रहेको बताए । उनले अन्य पालिकाहरूलाई समेत आप्रवासी कामदारहरूको सीपमूलक तालिमका लागि बजेट छुट्याउन आग्रह गरे । 


धनुषा जिल्लाबाट धेरै युवाहरू वैदेशिक रोजगारीमा गएका भए पनि सबैभन्दा बढी रेमिट्यान्स झापा जिल्लामा आइरहेको तथ्यांक छ । धनुषाका बढी युवा वैदेशिक रोजगारीमा रहे पनि रेमिट्यान्स किन कम आइरहेको छ भन्ने विषयमा सोच्नै पर्ने बेला आएको सहभागी वक्ताहरूले बताएका थिए ।