close

थिमि सरकारको साढे तीन वर्ष : कार्यान्वयन नै गरेनन् आधा आश्वासन, मिलाप कम, विवाद बढी 

थिमि सरकारको साढे तीन वर्ष : कार्यान्वयन नै गरेनन् आधा आश्वासन, मिलाप कम, विवाद बढी 

Trulli
ADVERTISEMENT

भक्तपुर- जनताको विश्वास जितेर गाउँको सिंहदरबार छिरेका जनप्रतिनिधिले साढे तीन वर्षे कार्यकाल पूरा गरिसकेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिले पनि चुनावताका जनतालाई अनेकौँ आश्वासन दिए । तर, जनताले सोचेअनुसार मात्र होइन, आफैँले प्रतिबद्धता गरेका योजनासमेत पूरा गर्न सकेका छैनन् । 


मध्यपुर थिमि नगरपालिकाले तीन वर्षमा विकास पूर्वाधारलाई प्राथमिकता दिँदै आएको दाबी गरेको छ । तीन वर्षमा नगरले सडक विस्तार, ढल विस्तार, मन्दिर तथा पाटी-पौवा निर्माण गर्दै आएको छ । नगरले गत आर्थिक वर्ष २०७६/०७७ मा ५१७ मिटर सकड कालोपत्रे, तीन हजार १३० मिटर ग्राभेल र ७२८.५ मिटर सडक ढलान गरेको बताएको छ ।


यसैगरी पाँच हजार ५५४ वटा खानेपानीका योजना सम्पन्न, दुई हजार ८८५ ढल र तीन लाख ८४ हजार ८१८ वर्गकिलोमिटर इँटा ढुंगा छपाइ गरेको छ । नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीले तीन वर्षमा विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन् । 


‘हामीले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिएका छौँ’, उनले भनिन्, ‘जुत्ता बनाउने, अचार बनाउनेलगायत महिला लक्षित कार्यक्रम संचालन गरेका थियौँ । तर, यस वर्ष नगरपालिकाकै आन्तरिक विवादका कारण योजना संचालन गर्न सकिएन ।’ नगरले सामाजिक तथा अन्य क्षेत्रमा पनि काम गर्दै आएको उनले सुनाइन् । 


तर, बितेका तीन वर्षमा आफूहरूले सोचेअनुसार विकास नभएको स्थानीयको गुनासो छ । नगरपालिका भवन वरिपरि नै सडकको स्तरोन्नति नभएका कारण दैनिक धुलोसँग लड्नुपरेको उनीहरूको भनाइ छ ।


‘पालिकाले सडक, ढल विकासलगायत पूर्वाधारका काम गर्दै आएको छ,’ स्थानीय लक्ष्मीकृष्ण प्रजापतिले भने, ‘नगरपालिकाले विकास निर्माण गरेको छ तर प्रशासनिक रूपमा हुने काममा स्थानीयलाई दुःख दिएको छ ।’ कानुनी प्रक्रिया भन्दै अनावश्यक कागजात खोजेर नगरबासीलाई हैरानी दिने गरेको उनले गुनासो गरे ।