close

ठडिँदै छन् गाउँका सिंहदरबार

बाह्रविसे र सुनकोसीबाहेक सबैका आफ्नै भवन

ठडिँदै छन् गाउँका सिंहदरबार

बाह्रविसे र सुनकोसीबाहेक सबैका आफ्नै भवन

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- स्थानीय सरकारमा जनप्रतिनिधि आएको चार वर्ष हुँदै छ । अधिकांश स्थानीय सरकारमा जनप्रतिनिधि आउँदा न कार्यालय थियो, न त कर्मचारी नै । केही स्थानीय सरकारबाहेक प्रायः सबै जनप्रतिनिधिहरूले भाडामा नै आफ्ना कार्यालय संचालन गरिरहेका थिए ।
    


तर, यो चार वर्षको अवधिमा भने धेरै स्थानीय सरकारको आफ्नै भव्य भवन निर्माण सम्पन्न भइसकेको छ भने केही स्थानीय तहले धमाधम आफ्नो भवन निर्माण सुरु गरिरहेका छन् । लथालिंग अवस्थामा नै जिम्मेवारी लिएका स्थानीय तहका जनप्रतिनिधिहरूले यस अवधिमा विकास निर्माण र स्थानीयको पीरमर्कालाई त सम्बोधन गरेकै छन्, त्योभन्दा पनि आफ्ना कार्यालय भवनहरू पनि निर्माण गरेर स्थानीयलाई सहज र सजिलोसँग सेवा प्रवाह गरिरहेका छन् । गाउँका सिंहदरबारहरू यतिबेला निकै आकर्षक र चिटिक्कसँग निर्माण सम्पन्न भएका छन् ।
    


सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये बाह्रविसे नगरपालिका र सुनकोसी गाउँपालिकाबाहेक अरू सबैले आफ्नो प्रशासनिक भवन धमाधम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले आफ्नो भवन निर्माण गरेर नयाँ भवनबाटै दैनिक कामकाज सुरु गरिसकेका छन् भने केही स्थानीय तहले धमाधम भवन निर्माणको शिलान्यास गरिरहेका छन् ।
    

आफ्नो कार्यकालभित्र गाउँपालिका-नगरपालिकाको आफ्नै भवन निर्माण गरेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्ने लक्ष्यका साथ स्थानीय तहका प्रमुखहरूले भवन निर्माण कार्यलाई समेत प्राथामिकतामा राखेका छन् । धेरै स्थानीय तहलाई भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा दान गरेर भवन निर्माण प्रक्रियालाई अझै सहज बनाइदिएका छन् । 
    

सिन्धुपाल्चोकका स्थानीय तहमध्ये केही अहिले पनि मासिक रूपमा भाडा तिरेर व्यक्तिको घरबाटै कार्यालय संचालन गरिरहेका छन् । भाडामा कार्यालय संचालन हुँदा वार्षिक लाखौँ रुपैयाँ भाडाबापत नै तिर्नुपर्ने बाध्यता छ भने पर्याप्त कोठासमेत नहुँदा साँघुरोमा कार्यालय संचालन हुँदा सेवाग्राही र कर्मचारी दुवै समस्यामा छन् ।
     


बलेफी गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा स्थानीयले निःशुल्क दिएपछि अबको एक महिनाभित्रै भवन निर्माण प्रक्रिया सुरु गर्ने गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । जुगल गाउँपालिकालाई पनि स्थानीयले ४० रोपनी जग्गा निःशुल्क दान दिएपछि बिहीबार भवन निर्माणको शिलान्यास भएको छ ।


हेलम्बु गाउँपालिका
    

जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा भव्य र नयाँ डिजाइनमा हेलम्बु गाउँपालिकाले भवन निर्माणको तयारी गरेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । ‘एक हजार ५०० भन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्ने गरेर हामीले भवनको डिजाइन गरेका छौँ’, अध्यक्ष शेर्पाले भने, ‘लागत मात्र ३५ करोड लाग्ने गरेर स्टिमेट तयार भएको छ ।’ 


भवन निर्माणका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा केही बजेट राखेको छ भने संघीय सरकारसँग पनि बजेटेका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । अहिले भने भाडामा नै कार्यालय संचालन भइरहे पनि आफ्नो कार्यकालभित्रै गाउँपालिकाको भवन निर्माण सम्पन्न गरेर नयाँ टिमलाई कार्यभार हस्तान्तरण गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए ।
    

भोटेकोसी गाउँपालिका
    

भोटेकोसी गाउँपालिकाले गाउँपालिकाको केन्द्र झिर्पु, हिन्दीमा टेण्डर प्रक्रियामार्फत गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरिरहेको छ । आफ्नो कार्यकालमा नै भवन निर्माण सम्पन्न हुने गरी भवन निर्माणकार्य तीब्र रूपमा अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । अहिले गाउँपालिकाको सबै काम भाडाको घरबाटै संचालन भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।


बाह्रविसे नगरपालिका


बाह्रविसे नगरपालिकाले भने जग्गा अभावमा भवन निर्माण कार्य अघि बढाउन सकेको छैन । तत्कालीन बाह्रविसे गाविसको भवनलाई मर्मत गरेर कार्यालय त्यहीँ संचालन भए पनि कोठा अपुग भएकाले केही शाखाहरू भने भाडामा नै संचालन भइरहेको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् । ‘सबै शाखाहरू भाडामा त छैनन् तर कोठा अपुग हुँदा काम गर्न भने समस्या नै छ’, उपप्रमुख पाख्रिनले भनिन्, ‘जग्गा नहुँदा भवन निर्माण सुरु गर्न सकिएको छैन ।’ 


बाह्रविसे नगरपालिकाले खोर्सानीबारीमा रहेको सडक विभागको जग्गामा भवन बनाउने योजना बनाए पनि सडक कार्यालयले जग्गा नदिएपछि प्रक्रिया अघि नबढेको उनले बताइन् ।


त्रिपुरासुन्दरी गाउँपालिका


त्रिपुरासुन्दरी गाउँपालिकाले केही दिनअघि मात्र आफ्नै भव्य भवन निर्माणको सुरुवात गरेको छ । डेढ वर्षभित्र भवन निर्माण पूरा हुने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हाम्रो कार्यकालमा नै भवन निर्माण सम्पन्न हुने गरेर काम सुरुवात भएको छ’, श्रेष्ठले भने । पिस्कर गाविसको भवनलाई ममर्त सम्भार गरेर गाउँपालिकाको दैनिक कामकाज त्यहीँबाट भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


सुनकोसी गाउँपालिका


सबै कार्यालय नै भाडामा संचालन गरिरहेको सुनकोसी गाउँपालिकाले भने अहिलेसम्म भवन निर्माण गर्ने स्थान नै भेटेको छैन । गाउँपालिकाको केन्द्र टुंगो लागे पनि जग्गा नहुँदा भवन निर्माणमा समस्या भएको गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जीसीले जानकारी दिए ।

 

गाउँसभाले सुनकोसी गाउँपालिका- ४ सियाले, माछापोखरीलाई गाउँपालिकाको केन्द्र हुने निर्णय गरेर त्यही रहेको जग्गामा भवन निर्माणको लागि प्रक्रिया अघि बढाए पनि त्यहाँको जग्गा वनको रहेकाले त्यहाँ भवन बनाउन नमिल्ने बताएपछि प्रक्रिया रोकिएको अध्यक्ष जीसीले जानकारी दिए । 


‘हामी दुई वर्ष त्यसैमा अल्मलियौँ । अब फेरि गाउँसभा राखेर कुन ठाउँमा भवन निर्माण गर्ने त्यसको निर्णय गर्छौं’, अध्यक्ष जीसीले भने, ‘हाम्रो कार्यकालमा नै भवन निर्माण सुरु गर्ने योजना छ ।’


बलेफी गाउँपालिका


बलेफी गाउँपालिका अहिले भाडामा नै संचालन भए पनि अबको केही महिनाभित्रै आफ्नै भवन निर्माणको सुरुवात गरिने गाउँपालिका अध्यक्ष केदार क्षत्रीले जानकारी दिए । बलेफी गाउँपालिकाले वडा नं.– ५ को खड्का टोलमा आफ्नो प्रशासनिक भवन निर्माण गर्न लागेको अध्यक्ष क्षेत्रीले जानकारी दिए । 


‘स्थानीयले साढे चार रोपनी जग्गा निःशुल्क दान गर्नुभएको छ । जग्गा गाउँपालिकाको नाममा प्राप्त भइसकेको छ’, अध्यक्ष क्षेत्रीले भने, ‘भवन निर्माणका लागि यो वर्ष डेढ करोड छुट्याएका छौँ ।’ आफूहरूको कार्यकालभित्रै भवन निर्माण सम्पन्न हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।


जुगल गाउँपालिका


जुगल गाउँपालिकाले वडा नं.- ५ को चनौटेमा रहेको घ्यादुङमा भवन निर्माणको सुरुवात गरेको छ । स्थानीयले ४० रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गरेपछि भवन निर्माण कार्य अघि बढेको छ ।

 

छ करोड रुपैयाँको लागतमा निर्माण २०७८ असारभित्र भवन निर्माण सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । तीन तल्ला, ३८ कोठाको भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको दैनिक काम गर्न सहज हुने अध्यक्ष श्रेष्ठले बताए ।


चौतारा साँगाचोकगढी नगरपालिका


सिन्धुपाल्चोकको पहिलो नगरपालिका चौतारा साँगाचोकगढीको कुनै पनि कार्यालय भाडामा संचालन भएको छैन भने आफ्नै कार्यालय भवन पनि निर्माण सम्पन्न भएको नगरप्रमुख अमानसिंह तामाङले जानकारी दिए । 


१२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आवासका लागि क्वार्टरसमेत सरकारी भवनमा नै रहेको छ । महिला विकास कार्यालय खारेज भएपछि त्यही भव्य भवनलाई आवासगृह बनाइएको छ भने जिल्ला कृषि विकास कार्यालयको भवनमा नगरपालिकाको कार्यालय रहेको छ । 


नगरपालिकाको केही शाखाहरू जिल्ला समन्वय समितिको भवनमा संचालनमा रहेको छ भने अब कृषि र भेटेरेनरी भने आफ्नै भवनमा सार्ने तयारी रहेको नगरप्रमुख तामाङले जानकारी दिए । भवनको हिसाबले १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका नै धनी देखिएको छ ।


इन्द्रावती गाउँपालिका


इन्द्रवाती गाउँपालिकाले पनि आफ्नो प्रशासनिक भवन धमाधम निर्माण गरिरहेको छ । आउने वर्षभित्र भवन निर्माण सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । साविकको नवलपुर गाविसको भवनलाई मर्मत गरेर मुख्य कार्यालय बनाइएको छ भने केही शाखाहरू अहिले पनि भाडाको घरमा नै संचालन भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

 

आउने आर्थिक वर्षभित्रै भवन निर्माण सम्पन्न हुन्छ होला, त्यसपछि भाडाको घरमा कार्यालय संचालन हुने अवस्थाको अन्त्य हुन्छ अध्यक्ष तामाङले भने ।


मेलम्ची नगरपालिका


आन्तरिक स्रोतमा सबैभन्दा धनी रहेको मेलम्ची नगरपालिका लामो समय भाडाको घरमा संचालन भए पनि केही महिनाअघिदेखि आफ्नै भव्य भवनमा सरेको छ । जनप्रतिनिधि आउनु अगाडि नै भवन निर्माण कार्य अघि बढाएको मेलम्ची नगरपालिकाले केही महिनाअघि मात्र भवन निर्माण कार्य सम्पन्न गरेर आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको नगरपालिकाका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । 


सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये अहिलेसम्म निर्माण सम्पन्न भएका प्रशासनिक भवनमध्ये मेलम्ची नगरपालिकाको भवन उत्कृष्ट रहेको छ । तत्कालीन रूपमा कर्मचारीहरूले नै नगरपालिकाको जिम्मेवारी लिएका बेलामा सुरुवात भएको नगरपालिकाको भवन केही महिनाअघि मात्र निर्माण सम्पन्न भएर नगरपालिकाको सबै काम त्यहीँबाट सुरुवात भएको प्रमुख अर्यालले जानकारी दिए ।


पाँचपोखरी थाङ्पाल गाउँपालिका


पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अस्थायी रूपमा संचालनको लागि आकर्षक कार्यालय भवन निर्माण गरेर त्यहीँबाट स्थानीयलाई सेवा दिइरहेको छ भने गाउँपालिकाको स्थायी भवन पनि निर्माण सम्पन्न हुने चरणमा रहेको गाउँपालिकाका अध्यक्ष टासीलामा ह्योल्मोले जानकारी दिए । 


‘अस्थायी रूपमा भए पनि हामीले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छौँ । भाडामा एउटा मात्र शाखा संचालनमा रहेको छ’, अध्यक्ष लामाले भने, ‘अब केही महिनाभित्रै स्थायी भवन निर्माण सम्पन्न भएपछि भाडामा शाखाहरू संचालन गर्नुपर्दैन ।’


लिसंखुपाखर गाउँपालिका


जनप्रतिनिधि आएपछि झण्डै दुई वर्षसम्म भाडाको घरमा कार्यालय संचालन गरेको लिसंखुपाखर गाउँपालिकाले अहिले आफ्नै भव्य भवन निर्माण गरेको छ । निकै आकर्षक रूपमा निर्माण गरेको आफ्नै भवन भएपछि सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई समेत सजिलो भएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए । 


जिल्ला समन्वय समिति र गाउँपालिकाको आफ्नै स्रोतमा गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको अध्यक्ष नेपालले बताए । क्यान्टिन, सभाहलसहित नयाँ भवनमा सबै सुविधा छन् । केही शाखाहरू भने अझै पनि भाडाको घरमा संचालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।


भवन निर्माणमा जिससको योगदान


गाउँपालिका तथा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सहयोग गरेपछि भवन निर्माणमा सहयोग पुगेको स्थानीय सरकारका जनप्रतिनिधिहरूले बताएका छन् ।


तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा मौज्दात रहेको ४५ करोड रुपैयाँभन्दा बढी रकम स्थानीय विकास मन्त्रालयले कार्यविधि बनाएर फुक्का गरेपछि गाउँपालिका÷नगरपालिकाको भवन निर्माणका लागि जिल्ला समन्वय समितिले सहयोग गरेको समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।


भोटेकोसी, बलेफी, जुगल, त्रिपुरासुन्दरी, लिसंखुपाखर, पाँचपोखरी, थाङ्पाल गाउँपालिकालाई भवन निर्माणका लागि जिल्ला समन्वय समितिले प्रतिस्थानीय सरकार तीन करोड रुपैयाँसम्म सहयोग गरेको थियो । जिससले सहयोग गरेपछि हामीले गाउँपालिकाको भवन निर्माणमा सहयोग भयो लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष नेपालले भने ।